|

पर्वत : कुश्मा नगरपालिका-५ का रत्‍नबहादुर श्रेष्ठ उमेरले ५८ वर्षका भए। उनको शरीरमा युवाकै जस्तो जोस र जाँगर छ। सदरमुकाम बसोबास गर्ने उनी बिहान सबेरै उठेर करिब आधा घण्टा तल मोदी खोला तीरमा रहेको फर्ममा जान्छन्। आधा घण्टाको उकालो चढ्दै खाना खान घरमा आइपुग्छन्, फेरि मोदीकै तीरमा पुगेर साँझमा मात्र फर्किन्छन्।

मोदीको तीरमा उनले हाँस र बाख्रा पालेका छन्‌। तिनलाई स्याहार्न पाउँदा उनलाई खुसी लाग्छ। यही कारण बुढेसकालमै भए पनि लेकबेँशी गर्छन्। फार्ममा रहेका हाँस र बाख्रा रत्‍नका लागि 'रत्‍न' नै हुन्।

‘मलाई जीविका चलाउन सजिलो बनाएकै यी हाँस र बाख्राको व्यापारले हो। मलाई यिनै रत्‍न लाग्छन्। बुढेसकाल लागे पनि हिँड्ने जोस घटेको छैन’, उनी भन्छन्, ‘दिनभर बाख्राका पाठासँग खेल्दा, पोखरीमा हाँस पौडिएको हेर्दा आनन्द लाग्छ। म यसैमा सन्तुष्ट छु।’

उनको फर्ममा अहिले ७० ओटा हाँस छन्। एउटा हाँस करिब साढे तीन किलोसम्मको छ। ज्यूँदोमा प्रतिकिलो ६ सय रुपैयाँमा बिकिरहेको छ। हाँस पालन नै आम्दानीको बलियो स्रोत भएको छ। हाँससँगै फर्ममा यतिबेला साना र ठुला गरेर ३२ ओटा बाख्रा पनि छन्। बोकाको मूल्य ज्यूँदोको प्रतिकिलो ५ सय ५० रुपैयाँ छ।

हाँस र बाख्राले बजार पाएका कारण यसैमा रत्‍नबहादुरलाई आनन्द लागेको छ। ‘महिनामा यति नै कमाई हुन्छ भन्ने त हिसाब गरेको छैन। तर यसैबाट घर व्यवहार चलाउन सकेको छु। हाँस लिन यहीँ बेँसीमा बजारका मान्छे आइपुग्छन्। खसी बोका पनि उत्पादन गर्न सके बिक्री भइहाल्छन्’, उनले भने, ‘मलाई यसैमा आनन्द मिलेको छ। तलमाथि हिँड्न सकुञ्जेल यही पेशा गर्ने हो।’

रत्‍नबहादुरलाई सघाउने उनका माहिला छोरा दिनेश छन्। जेठा छोरा अस्ट्रेलिया र कान्छा छोरा दुबईमा छन्। उनीहरूको कमाई मात्रै खाएर बस्नुभन्दा सकेको काम आफैँ गर्नुपर्छ भन्ने सोचले रत्‍नबहादुर पेशाप्रति लगाव राख्छन्। दिनेश पनि विदेश गएर फर्किएका हुन्। विदेशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने त्यसमा आम्दानी र सन्तुष्टि दुवै मिल्ने दिनेश बताउँछन्।

‘विदेशमा गएर दुःख गरेर आइयो, उहाँ पनि हाड घोटेर काम नगरी कमाउनु छैन, त्यत्तिको दुःख यहीँ गर्ने हो भने राम्रो हुन्छ भनेर बुबासँगै फर्ममा काम गर्छु’, उनले भने, ‘विदेशमा साहुको भनाई खाई नखाई काम गर्नुभन्दा आफैँले केही गर्दा कसैको गाली खानुपरेको छैन, विदेशमा गरेको परिश्रमले त्यहीँका साहुलाई धनी बनाउँछ, यहाँको मिहिनेतले आफैँलाई धनी बनाउँछ।’

रत्‍नबहादुर २०४९ सालमा रोजगारीको लागि मलेसिया पुगेका थिए। २०५३ सालमा स्वदेश फर्किए। पछि फेरि २०५९ सालमा कामकै लागि मलेसिया पुगेर एक वर्षको अवधिमा फर्किनुपरेको थियो। त्यो बेलामा उनले एक महिनामा नेपाली ११ हजार रुपैयाँ तलब थाप्थे। त्यही ११ हजार रुपैयाँ कमाउन पनि फलामको चिउरा चपाउनुजस्तै भएपछि उनलाई त्यहाँ बस्न मन लागेन। स्वदेश फर्किएपछि सदरमुकाम कुश्मा बजारमै सानो किराना पसल शुरू गरे।

तर, किराना पसलमा त्यति धेरै नाफा नभएका कारण उनलाई आर्थिक समस्या परेकै थियो। अन्ततः विकल्पको रूपमा उनले हाँस र बाख्रा पाल्ने सोच बनाएर साढे १८ हजार रुपैयाँ लगानी गरी तीन वर्ष अघिदेखि काम शुरू गरे। शुरूमा ७ ओटा बाख्रा हालेर फर्म शुरू गरेका रत्‍नबहादुरको मन अहिले भने ढुक्क छ।

अनुदानको रूपमा अहिलेसम्म १३ हजार रुपैयाँ पाएको सुनाउँदै उनले भिसा लागेका मान्छेलाई जसले पनि ऋण पत्याउने, तर स्वदेशमै केही गर्छु भन्दा कसैले रुपैयाँ नदिने व्यवहार गर्दा दुःख लागेको सुनाए। फर्मको सुधार र व्यवसायलाई अझै बढाउन उनले सरकारी निकायमा धेरै पटक थोरै भएपनि अनुदानको माग गर्दा विभिन्न बहाना देखाएर नदिने गरेको बताए।

अर्कोतर्फ विदेश जाने भिसा लागेको मान्छेलाई लाखौँ रुपैयाँ पत्याउनेहरूले यहीँ काम गर्ने कृषकलाई हजार रुपैयाँ पनि दिन विश्वास नमान्ने गर्दा देशमै केही गर्छु भन्ने सोच भएकाहरूलाई कठिन हुने उनको भनाई छ।

‘नेपालमा काम गर्नसके ठीक छ, तर काम शुरू गर्न पैसा चाहियो, पत्याइदिने मान्छे नै पाउन कठिन ! विदेश जानेहरूलाई जति पनि ऋण दिनेहरूले हामी कृषकलाई रुपैयाँ ऋण नदिने रहेछन्’, उनले भने, ‘सरकारी मान्छेले पनि हामीजस्ता सोझा मान्छेलाई कहाँ दिन्छन् र? अलिअलि अनुदान पाउन पाए खोर सुधारेर अलि गतिलो बनाउने थिएँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.