|

बाग्लुङ : विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान दिन यहाँको एक विद्यालयले भूकम्प मापनयन्त्र जडान गरेको छ। बाग्लुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेकोे शान्ति माध्यामिक विद्यालय परिसरमा भूकम्प मापनयन्त्र जडान गरेको हो।
 

जैमिनी नगरपालिकाको चालू आर्थिक वर्षको कार्यक्रम अनुसार एक लाख ५० हजारको लागतमा सो यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिए। ‘व्यवहारिक शिक्षाको खाँचो छ, भूकम्पको विषयमा हाम्रा विद्यार्थी जानकार हुन आवश्यक छ,’ आचार्यले भने,‘भूकम्प सम्बन्धी शिक्षा, जनचेतना तथा सचेतना दिनको लागि यन्त्र उपयोगी हुने छ।’

विद्यालयमा जडान भएको यन्त्रले २ दशमलव ५ रेक्टर स्केलमाथिको भूकम्पको मापन गर्न सक्ने उनले जानकारी दिए। ‘सामान्य भूकम्पको धक्काको विषयमा विद्यालयमा नै जानकारी हुन्छ, जसका कारण नगरवासी सबैले सूचना पाउने माध्यम बन्छ,’ उनले भने, ‘स्थानीयस्तरको २ दशमलव ५ माथि र चार रेक्टर स्केलभन्दा माथि नेपालभर गएका भूकम्पको जानकारी यन्त्रले दिन सक्छ।’

नगरपालिकाले शान्ति माध्यमिक विद्यालय आसपासका अन्य विद्यालयका विद्यार्थीको लागि समेत यो सिकाइ केन्द्र बनाउनुपर्ने भनेको छ। सात रेक्टर स्केलसम्मका विश्वभरका भूकम्पीय गतिविधि पनि यन्त्रले मापन गर्ने आचार्यले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.