|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरू गरेको छ।

बुधबार राष्ट्रिय सभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो अभियान थालेको नगरप्रमुख विद्यासुन्दर शाक्यले बताएका छन।

अन्तरक्रियामा बोल्दै शाक्यले तुलनात्मक रूपमा काठमाडौंमा हिंसाका घटना कम भएको दावी गरे। ‘भित्रभित्रै हिंसा भएका हुन सक्छन,’ उनले भने, ‘सबै मिलेर ती हिंसालाई शून्य बनाउनुपर्छ, आर्थिक र सामाजिक हिसाबले मिश्रित बसोबास काठमाडौंको चरित्र हो, सहरमा गरीब बस्ती पनि छ, आजबाट १६ दिने महिला हिंसा विरुद्ध अभियान थालेका हौं।’

न्यायिक समितिमार्फत यस्ता घटनामा महानगरले प्रत्यक्ष सरोकार राखेको पनि उनले बताए।  कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडौंका टोलटोलमा हिंसाका अवस्थाका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

‘आमसञ्चारमा आएका सबै विषय समुदायका मानिसले पढ्न, हेर्न र सुन्न नपाउन सक्छन्, त्यसैले माइकिङ गरेर उहाँहरूलाई अवस्था र गर्नुपर्ने कामका बारेमा जानकारी गराउने अभियान चलाउन म सामाजिक विकास विभागलाई आग्रह गर्दछु,’ उनले भने।

अन्तरक्रियामा अधिवक्ता मीरा ढुङ्गानाले ‘महिलामाथि हुने विभिन्न खालका हिंसा र कानुनी प्रावधान’ र ‘नेपालमा महिला अधिकार र कार्यान्वयनको अवस्था’ गरी २ वटा विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन। 

सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ। यस वर्ष मंसिर १० गतेदेखि २५ गतेसम्म मनाइने अभियानको नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.