अलबिदा ‘ह्यान्ड अफ गड’ म्याराडोना

|

काठमाडौं : ‘दि गोल्डेन ब्वाई’ उपनाम पाएका अर्जेन्टिनी फुटबलर डिएगो अर्मान्डो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका  अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो। अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा दुई साताअघि उनको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। 

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोबरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए। उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाइन छाडेका थिए। 

लानुस, ब्यूनस आयर्समा ३० अक्टोबर १९६० मा उनको जन्म भएको थियो। उनी सधैँ चर्चामा नै रहे। कहिले खेल कौशलका कारण त कहिले विवादमा रहनु रहनु डिएगो अर्मान्डो म्याराडोनाको विशेषता थियो। 

बालक छँदैदेखि उनको चर्चा सुरु भएको हो, जतिखेर उनी केवल दस वर्षका थिए। त्यतिबेला म्याराडोनालाई ठूला प्रतियोगिताहरूमा मध्यान्तरका बेला मैदानमा बोलाइन्थ्यो, जहाँ उनी आफ्नो फुटबल सन्तुलन कला देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्थे। 

विश्वकप सपना

उनले खेलाउन थालेपछि बल कहिले खुट्टामा, कहिले टाउकामा, कहिले घुँडामा, ढाडमा, काँधमा अनि कहिले तिघ्रामा! बल त खस्नै नपाउने ! पछि गएर, म्याराडोनाको यो बल–सन्तुलन कला स्थानीय एटलान्टा रंगशालामा लामो समयसम्म दर्शकको अनुरोधमा परम्पराजस्तै बन्यो। 

त्यसैताका दसवर्षे म्याराडोनालाई पहिलोपटक टेलिभिजनले अन्तर्वार्ता लिँदै भविष्यको योजनाबारे सोध्यो। म्याराडोनाले सहज पाराले जवाफ दिँदै भनेका थिए, ‘राष्ट्रिय टोलीबाट खेल्दै विश्वकप उपाधि जित्नु मेरो कल्पना, सपना र जपना हो।’

नभन्दै २६ वर्षको उमेरमा सन् १९८६ मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताइछाडे। त्यो विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरिएको छ। 

१९८६ को विश्वकपमा म्यारोडोना आफ्नो हातले गरेको उक्त गोललाई ‘ह्याण्ड अफ गड’ को संज्ञा दिन्छन्। अर्जेन्टिनाले उक्त वर्ष जर्मनीलाई पराजित गर्दै विश्वकप जिते पनि म्यारोडोनाको त्यही गोल नै बढी चर्चित भएको थियो। ६६ यार्ड परबाट ५ जना इङल्यान्डका खेलाडीलाई छलाएर गरेको दोश्रो गोल सन् २००२ मा गोल अफ दि सेन्चुरी घोषित भयो। 

सधैँ सम्मानित

स्पेनको बार्सिलोना क्लबमा उनी सधैँ सम्मानित छन्। अझ, उनी लामो समयसम्म आबद्ध रहेको इटालीको नापोली क्लब त उनलाई आफ्नो भगवान् नै मान्छ। जीवनमा अनेक उतारचढावहरू आए। 

तर, उनी जतिबेलासम्म खेले, दिलोज्यानका साथ इमानदारी र समर्पित भावनाले खेले। सन् १९९४ मा अमेरिकामा भइरहेको विश्वकपको लिग चरणको खेलका बेला मूत्र परीक्षणमा प्रतिबन्धित औषधि पाइएको आरोपमा अपमानजनक ढङ्गले विश्वकपबाट बाहिरिए। 

प्रशिक्षक यात्रा

१७ वर्षे अन्तर्राष्ट्रिय करियरमा उनले ९१ खेलमा ३४ गोल गरे। सन २००० मा फिफा शताब्दी प्लेयर समेत घोषित भए। १९९४ बाट प्रशिक्षक करियर सुरु गरेका म्यारोडोनाले अन्तिम प्रशिक्षण जिम्नासिया ला प्लाटालाई दिए। 

सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीसमेत सम्हालेका उनले करिब २ बर्षको अवधिमा २४ खेलमा १८ खेल अर्थात ७५ प्रतिशत जित दिलाएका थिए। 

प्रशिक्षकका रुपमा उनले अर्जेन्टिनाबाहेक युनाइटेड अरब इमिरेट्स र मेक्सिकोमा समेत उनले बिताए। कुल २७ वर्षको आफ्नो लामो र विवादग्रस्त सक्रिय फुटबल जीवनमा उनले जति नाम कमाए, त्यति नै बदनामी पनि पाए। 

जति आकर्षण कमाए, त्यति नै विकर्षण पनि पाए। उनी विश्वमै सम्भवतः एक मात्र त्यस्ता फुटबल खेलाडी हुन्, जसका जति धेरै प्रशंसक–समर्थकहरू छन्, त्यति नै आलोचकहरू पनि।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.