|

धनगढी : कैलालीका दुई पत्रकारले ‘बार्गेनिङ’ गर्दै असुलेको रकम फिर्ता गरेका छन्। नाइस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश विक र सोही टेलिभिजनमा आबद्ध गोविन्द विसीले ‘बार्गेनिङ’ गरेर असुलेको रकम फिर्ता गरेका हुन्‌। 

उनीहरूले कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित श्री वास्तव मेडिकल हलका सञ्चालकबाट असुल गरेको २८ हजार रुपैयाँ रकम फिर्ता गरेका छन्। 

धम्क्याएर बार्गेनिङ गर्दै पैसा असुल्ने कैलालीका दुई पत्रकारका घटना बाहिरिए’ शीर्षकमा थाहा खबरमा समाचार प्रकाशन भएपछि उनीहरूले रकम फिर्ता गरेका हुन्‌। 

मेडिकल सञ्चालक कमलेश सक्सेनाकी श्रीमती लीला सुनारबाट असुलेको २५ हजार र उनको खाजा खाएवापतको तीन हजार रुपैयाँ ती दुई पत्रकारले फिर्ता गरेका हुन्‌। सक्सेनाले आफूबाट विक र बिसीले असुल गरेको रकम फिर्ता गरेको बताएका छन्। 

उनीहरूले शुरूमा दुई लाख रुपैयाँ ‘बार्गेनिङ’ गरेको र पछि एक लाख रुपैयाँ दिनुपर्ने भन्दै मेडिकल सञ्चालकलाई धम्की दिँदै आएका थिए। मेडिकल सञ्चालक सक्सेनाबाट थप ७५ हजार रुपैयाँ असुल्न धम्की दिएको टेलिफोन संवाद बाहिरिएको थियो।  

विक र बिसीले अन्य ठगी र ‘बार्गेनिङ’ गरेका घटनाहरू पनि सार्वजनिक भएका छन्। उनीहरूले समाचार प्रकाशन गरिदिने भन्दै धम्क्याउने, पैसा नभएको चेक दिने, उधारो खाएर भाग्ने तथा विभिन्न बहाना बनाएर ठगी गर्ने जस्ता घटनाहरू थाहा लागेको हो।

केही समय आर्थिक दैनिकमा कार्यरत पत्रकार विक यस्तै ‘बार्गेनिङ’ का घटनाहरू बहिरिएपछि निस्कासनमा परेका थिए। अहिले पनि ‘बार्गेनिङ’ र ठगी गरेका घटनाहरू एकपछि अर्को गर्दै बाहिरिएपछि समग्र पत्रकारिता जगतकै बदनाम भएको भन्दै सञ्चारकर्मीहरूले पत्रकार विकमाथि कारबाही माग गरिरहेका छन्‌।

पत्रकारले ‘बार्गेनिङ’ र ठगी गरेका घटना बाहिरिएपछि आफूहरू लज्जित बन्नुपरेको धनगढीका पत्रकारहरूले बताइरहेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.