|

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्राडा.राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो। प्रतिष्ठाको कार्यकारी परिषद् बैठक नै नराखी सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति फिर्ता लिन माग गरेको थियो।

तालाबन्दी खोल्नका उपकुलपति प्राडा. वाग्लेले सम्पर्क कार्यालय काठमाडौंबाट प्रतिनिधि मण्डल खटाएर पटक-पटक वार्ता गर्न निर्देशन दिएपनि तालाबन्दी खुल्न सकेको थिएन। पछि आफैँ केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्ता बस्न नमान्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो।

अन्त्यमा आएर प्रतिष्ठानको कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोली माग गरिएको तीनवटा मूख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए।

सहमतिमा नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा ३ सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्‌मा पेश गर्ने सहमति भएको छ। त्यस्तै, प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख रहने र अन्य संकायका डीन सहायकहरू डीन रहने सहमति भएको छ। 

त्यस्तै, ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुलाई १ हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए। उनले भने, 'प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पुरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बस्ने सहमति भएको छ।'

यसका साथै अन्य मागका सम्बन्धमा कार्यकारी परिषदबाट हुबहु पारित गर्ने सहमति भएको आन्दोलनरत प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले बताए। उनले भने, 'गत असोज २६ गते नै प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डीनमा प्रा.डा. मुनिराज क्षेत्रीलाई नियुक्त गरेका थिए। सोही नियुक्तिलाई खारेज गर्नुपर्ने हाम्रो माग थियो।'

यस्तै, ऐनमा उल्लेख भएअनुसार प्रतिष्ठानमा कार्यरत कुनैपनि कर्मचारी बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने भन्दै कर्मचारीहरूले आन्दोलन गरेका थिए। मेडिकल डीन रेशम रानाको विषयले पनि प्रतिष्ठानका कर्मचारीभित्र तीव्र असन्तुष्टि रहेको बनाएको छ।

मेडिकल डिनका रुपमा नियुक्त भएका रानाले एसएसबीएच परियोजनाबाट सुविधा लिनुका साथै ऐनेस्थेसिया सहायक कोर्ष कोर्डिनेटरको जिम्मेवारीमा रहेर पनि सुविधा लिएको कल्याणकारी समाजको आरोप छ। समाजका पदाधिकारीले यसरी एउटै संस्थाभित्र दोहोरो/तेहरो सुविधा लिनु गैरकानुनी भएको र त्यस्तो सुविधा लिनेलाई कारबाही हुनुपर्ने समेत माग राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.