|

सञ्जय न्यौपाने

विश्वका महान ग्रन्थहरू पढ्नुस्। साहित्यका पाना पल्टाउनुस्। इतिहास हेर्नुस्। अनि श्रुत, अनुश्रुत र कहावत पनि सुन्नुस्। यी सबै चीजहरूमा दुई विषय प्रधान छन् : युद्ध र प्रेम! रोमियो-जुलियट, लैला-मजनु, शकुन्तला-दुष्यन्त, नल-दमयन्ती लगायत प्रेम कहानीहरू! साथै रामायण, महाभारत, ग्रीक-ट्रोय, शिकन्दरको दिग्विजय, चङ्‌गेज खाँका अन्य युद्धजन्य कहानीहरू!

विश्व साहित्य र इतिहासका हजारौँ पानाहरू यस्तै विषयहरूले भरिएका छन्। युगौँ अघिदेखि पुस्तान्तरण हुँदै आएका यी कथाहरू आजका पुस्तामाझ पनि उत्तिकै लोकप्रिय र जीवित नै छन्।

इतिहासको निश्चित भूगोलमा घटित भए पनि ज्ञानको फैलावटलाई भौगोलिक दूरी र कठिनाइले रोक्न सक्दैन। फलस्वरूप यी कहानीहरू आफ्नो उद्गमस्थलमा मात्र सीमित नभइ विश्वभर फैलिएका छन् र सिङ्गो विश्वको साझा सम्पतिको रूपमा रहीआएका छन्। 

पृथ्वीको भार हरण गर्ने उद्देश्यअनुसार भगवान विष्णुको अवतारको रूपमा कृष्णको जन्म भएको हो। यसक्रममा उनले कंश, शिशुपाल, शल्व लगायतका राजाहरूको बध गरे। महाभारतरूपी धर्मयुद्ध सम्पन्न भयो। आफू-आफूमै लडेर यदुवंशीहरूको ​ विनाश भयो। यी सबै घटनाहरूका मास्टरमाइन्ड भने भगवान श्रीकृष्ण नै थिए।

पूर्वीय साहित्यका प्राचीन, महत्वपूर्ण र कालजयी महाकाव्यहरू रामायण र महाभारत हुन् भने पाश्चात्य साहित्यका 'इलियाडु र 'ओडिसी'। फरक स्थानविशेषमा विभिन्‍न लेखकद्वारा रचिएका र पृथक संस्कार अनि सभ्यताको प्रतिनिधित्व गर्ने भएतापनि यी कृतिहरूमा केही आश्चर्यजनक समानता पाइन्छन्। दुवैथरी ग्रन्थहरू पढेका पाठकहरूलाई त यो लेख चाखलाग्दो नै होला, तर नपढेका व्यक्तिहरूलाई भने यसको विषयबस्तु बुझ्नमा केही कठिनाइ हुनसक्छ।

तसर्थ इलियाड र महाभारतमा पाइने मुख्य समानता र एकरूपतालाई उद्घाटित गर्दै यी ग्रन्थहरूप्रति पाठकहरूको मनमा चासो, उत्सुकता र पढ्ने इच्छा जगाउन सकेमा म आफ्नो प्रयास सार्थक भएको ठान्नेछु।

प्रत्येक लेखकले आफू बसेको समाजभित्र परिमित भएर साहित्य रचना गर्छ। आफ्नो चिन्तन र स्वैरकल्पनालाई जतिसुकै माथि उडाएपनि लेखकको पाउ भने समाजमै रहन्छ। तसर्थ महाभारत र इलियाड/ओडिसी पनि केवल कल्पित साहित्य मात्र नभएर महत्वपूर्ण ऐतिहासिक दस्तावेज पनि हुन्। किनभने दुवैथरी कृतिमा तत्कालिन युग र परिवेशको विराट र विषद‌ चित्रण गरिएको पाइन्छ। तसर्थ यी ग्रन्थहरूरूपी आँखीझ्यालमार्फत इतिहासको उक्त कालखण्डमा चिहाउन र सामाजिक परिवेश बुझ्न सकिन्छ।


महाभारत युद्धको प्रतीकात्मक तस्वीर । स्रोत : गुगल

यी ग्रन्थहरूबीचको पहिलो समानता यसको रचनाकाल हो। दुवै कृतिहरूको रचना भएको समयको निर्क्योल हुन सकेको छैन। महाभारतको रचना लगभग इसापूर्व १४०० देखि १५०० सम्म भएको भन्नेमा अधिकांश इतिहासकारहरू सहमत छन्। तर यो विषय पनि विवादको घेराबाट मुक्त भने हुन सकेको छैन। त्यस्तै इलियाड र ओडिसिको रचना भने इसापूर्व. ११५९ देखि ६८५ को बिचमा हुन गएको अनुमान गरिन्छ।

इलियाड र ओडिसिका रचनाकार होमर हुन्। होमरको विषयमा इतिहासकार र पूरातत्वविद्‌हरूबीच मतान्तर र अन्योल रहेको पाइन्छ। होमर कहिले र कहाँ जन्मिए भन्ने ठोस प्रमाण प्राप्त हुन सकेको छैन। भनिन्छ : ग्रीकका ७ शहरहरू होमरको जन्मभूमिको गौरव प्राप्त गर्न चाहन्छन्। होमरको शाब्दिक अर्थ हुन्छ-जम्मा गर्ने व्यक्ति। होमर केवल एउटा व्यक्तिको नाम हो वा त्यो संकलक (Complier) जनाउने व्यक्तिहरूको समूहलाई दिइएको संज्ञा हो भन्ने कुराको निर्क्योल अझै हुन सकेको देखिँदैन। यसरी दुवै इलियाड र ओडिसी एउटै व्यक्तिले आफ्नो जीवनकालमा रचेको कुरामा पनि विवाद देखिन्छ।

अर्कोतर्फ महाभारत रचनाको श्रेय व्यासलाई दिइएतापनि सिङ्गो महाभारत व्यासले मात्र रचना गरे/गरेनन् भन्ने विषयमा पनि मतान्तरहरू रहेका छन्। केही विद्वानहरू भने महाभारत एउटै समयमा लेखिएको नभएर विभिन्न कालखण्डमा छुट्टै व्यक्तिहरूद्वारा क्रमश लेखिँदै पूर्ण भएको जिकिर गर्छन्। व्यास कुनै एउटै व्यक्ति विशेष नभइ पदवी भएको दावी उनीहरूले गर्दै आएको पाइन्छ। दुवै लेखकका विषयमा यथेष्ट प्रमाण प्राप्त हुन नसकेकाले गर्दा वास्तविकता भने रहस्यकै गर्तमा छ।

महाभारत र इलियाड/ओडिसी दुवैको केन्द्रीय विषय छ : युद्ध र त्यसको उत्तरकाल (War and its aftermath)। इलियाडमा मूलत:: १० वर्षे ग्रीक ट्रोजन युद्धको पछिल्ला केही दिनहरूको वर्णन छ भने महाभारत पाण्डव र कौरवबीचको महासंग्राम, त्यसका कारण र परिणामको विषयमा केन्द्रित छ।

दुवै युद्धका मुख्य कारण हुन् : धोखा, बेइमानी र विश्वासघात। कौरव पक्षले पाण्डवहरूलाई जुवामा छल गरेर राज्य खोसी वनवास पठाउनु र आवश्यक शर्त पूरा गरेर आएपछि पनि राज्य नदिने कुरामा कौरवहरू दृढ रहनु नै युद्धको मुख्य कारण हो। त्यस्तै पाहुनाको रूपमा रहेका राजकुमार पेरिसले हेलेनलाई हरण (?) गर्नु ग्रीक ट्रोय युद्धको मूल कारण हो।

त्यसैगरी दुवै युद्धको केन्द्रमा महिला छन्। ग्रीक ट्रोजन युद्ध परम सुन्दरी हेलेनका कारण भएको छ भने महाभारतको केन्द्रमा पनि रूपसी द्रौपदी छिन्।

दुवै युद्धको मुख्य कारण हो : राजकुमारहरूको लहड, सनक र अदूरदर्शिता। महाभारतमा दुर्योधनको अभिमान र जिद्दी नै युद्ध घटित हुनुको मूल कारण हो। युद्ध रोकेर सम्भावित विनाशलाई टार्न लागि श्रीकृष्ण, विदुर, धृतराष्ट्र, गान्धारी र अन्य ऋषिमुनिहरूले जति सम्झाए पनि दुर्योधनले आफ्नो हठ छोडेनन्। साथै पाण्डव पक्षबाट आएका विभिन्न शान्ति प्रस्तावलाई पनि उनले नकारेका थिए।

अर्कोतर्फ राजकुमार पेरिसले राजा मेनेलसकी पत्नी हेलेनलाई स- सम्मान फिर्ता गर्ने शान्ति प्रस्तावमा सहमति जनाउन नसक्दा ग्रीक ट्रोय युद्ध अवश्यम्भावी हुन गएको हो।

युद्ध, यसका नियम र रणनीतिमा पनि थुप्रै समानता भेटिन्छन्। पैदलले पैदलसँगै लड्नुपर्ने, पछाडिबाट आक्रमण गर्न नपाइने, शरणागतलाई मार्न नहुने, सूर्यास्तपछि विश्राम गर्ने, व्यूहहरूको रचना गर्ने जस्ता कार्यहरू दुइवटै युद्धमा अनुशासनको रूपमा रहेको पाइन्छ। 

महाभारतको युद्धमा सहायताको निम्ति पाण्डव-कौरव दुवै पक्षले आफ्ना आफन्त र हितैषी राजाहरूलाई बोलाएको देखिन्छ। पाण्डवको तर्फबाट द्रुपद, धृष्टद्युम्न, सात्याकी र विराट लगायतका राजाहरू उपस्थित थिए भने कौरव तर्फबाट शकुनि, जयद्रथ, भगदत्त, शल्य, भुरिश्रवा लगायतका अन्य देशका राजाहरू सहायता हेतु आएका थिए। त्यसैगरी ग्रीक ट्रोजनको युद्धमा पनि थुप्रै हितैषी राजाहरू सेनासहित आमन्त्रित गरिएका थिए। राजा एगामेमनन, ओडिसस, डायमिडिज, नेष्टर, लगायतका राजाहरूले उक्त महायुद्धमा सहभागिता जनाएका थिए।


इलियाड युद्धको प्रतीकात्मक तस्वीर । स्रोत : गुगल

त्यस्तै दुवैथरी युद्धमा प्रयुक्त अस्त्रहरूमा पनि समानता पाइन्छ। महाभारतमा प्रयोग भएका मुख्य हतियारहरू धनुर्वाण, भाला, तरबार, ढाल आदि हुन् भने ग्रीक-ट्रोजन युद्धमा पनि वाण, ढाल, तरबार नै युद्धका मुख्य साधन थिए। त्यस्तै रथ, सारथि र घोडाको प्रयोग दुवैथरी युद्धमा गरिएको पाइन्छ।

महाभारतमा देवराज इन्द्रको प्रमुख अस्त्र बज्रलाई मानिएको छ भने इलियाडमा पनि देवराज ज्युसको प्रमुख अस्त्र बज्र नै हो। साथै इलियाडमा देवराज ज्यूस हिमच्छादित शिखरमा रहने गर्थे भनिएको छ। यतातर्फ देवताको देवताको रूपमा रहेका भगवान शिवको बासस्थान पनि कैलाश पर्वत नै रहेकाले दुवैतर्फका देवराजहरूको आवासमा पनि समानता भेटिन्छ।

तत्कालिन समाजका महिलाहरूको अबस्थामा पनि एकरूपता पाउन सकिन्छ। दुवै ग्रन्थहरूमा महिलाको हैसियत दोस्रो दर्जाको नागरिकको रूपमा मात्र रहेको छ। आत्मनिर्णय गर्ने र युद्धमा सहभागी हुने अधिकारबाट महिलाहरू बञ्चित थिए। त्यसैगरी युद्ध पश्चात विजेताले विजित देशका महिलाहरूलाई पनि वस्तुको रूपमा लुट्ने, विवाह गर्ने, हरण गर्ने प्रचलन दुवैतिर रहेको देखिन्छ। दुवै ग्रन्थहरूमा देखिएको समाज मूलत: पित्तृसत्तात्मक नै थियो।

दुवै युद्धको क्रममा स्वर्गबाट देवताहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तक्षेप गर्ने गरेको देखिन्छ। महाभारत युद्धमा त स्वयं भगवान रूपी श्रीकृष्णले नै प्रत्यक्ष भाग लिएका थिए। खासमा युद्धका योजनाकार नै श्रीकृष्ण स्वयं हुन्। साथै युद्धमा इन्द्र, सूर्य, वायु जस्ता देवताहरूको अप्रत्यक्ष संलग्नता रहेको थियो। त्यस्तै ग्रीक-ट्रोजन युद्धको निर्देशन देवाधिदेव ज्यूसले स्वयं गरेका थिए। ज्यूस जसरी चाहन्थे : युद्ध त्यसरी नै मोडिन्थ्यो। साथै एपोलो, अथेना, पोलिमिडस लगायत अन्य देवताहरू पनि कुनै पक्षको पृष्ठपोषकका रूपमा रही युद्धमा संलग्न भएका थिए।

दुवै ग्रन्थहरूमा अमर देवता र नश्वर मनुष्यको समागमबाट सन्तान उत्पत्ति भएको छ। साथै यसरी पैदा भएका सन्तानहरूले नै युद्धमा निर्णायक भूमिका खेलेका छन्। महाभारतमा कुन्तीले सूर्य, धर्म, वायु, र इन्द्र देवतासँगको समागमबाट कर्ण, युधिष्ठिर, भीम र अर्जुनलाई जन्म दिएकी थिइन्। त्यस्तै अर्कोतर्फ मनुष्य पेलेस र देवी अथेनाको समागमबाट योद्धा एकीलिजको जन्म भएको थियो भने ज्यूस र लेडा(?) को समागमबाट परम सुन्दरी हेलेन जन्मिएकी थिइन्।

अर्को समानता हो : कवच। महान ग्रीक योद्धा एकिलिजसँग एउटा यस्तो अभेद्य कवच (बख्तर) थियो जुन उनकी आमाले दिएकी थिइन्। कालान्तरमा उनका मित्र पेट्रोक्लसको निधनपछि उक्त कवच विपक्षी हेक्टरको हातमा परेको थियो। महाभारतमा यस्तै कवच सूर्यपुत्र कर्णसँग थियो, जुन उनका पिता सूर्यबाट प्राप्त भएको थियो। यो कवचलाई पनि कालान्तरमा इन्द्रले छल गरेर हरण गरेका थिए। त्यसरी नै युद्धको अन्त्यमा दुर्योधनको शरीर पनि (जाँध बाहेक) आफ्नी आमाको दृष्टिबाट अभेद्य भएको थियो।

त्यस्तै देवता र मनुष्यको सहज भेट हुने र देवताले मनुष्यलाई सल्लाह-सुझाव र वरदान दिने कार्यहरू दुवै ग्रन्थमा पटकपटक भएका विषयहरू भेटिन्छन्।

दुवै युद्धको अन्त्यमा विधिको विधानलाई नै सर्वोच्च ठहराइएको छ। प्रारब्धलाई पुरुषार्थभन्दा माथि राखिएको छ। मानिसको इच्छाले भन्दा नियन्ताको चाहनाले घटनाहरू निर्धारित हुन्छन् भन्ने दर्शन दुवै कृतिमा प्रधान रूपले रहेका छन्।

कथ्य अनूश्रुति अनुसार के भनिन्छ भने पृथ्वीको भार हरण गर्नुपर्ने जिम्मा देवाधिदेव ज्यूसमाथि रहेकोले उनैको चाहना र रणनीतिअनुसार नै ग्रीक र ट्रोयको विनाशकारी युद्ध भएको थियो। जसको परिणामस्वरूप अथाह व्यक्तिहरूको ज्यान गएको थियो। महाभारतको रहस्य पनि ठीक यस्तै हो।

पृथ्वीको भार हरण गर्ने उदेश्य मुताविक भगवान विष्णुको अवतारको रूपमा कृष्णको जन्म भएको हो। यसक्रममा उनले कंश, शिशुपाल, शल्व लगायतका राजाहरूको बध गरे। महाभारतरूपी धर्मयुद्ध सम्पन्न भयो। यदुवंशीहरूको आफू-आफूमै लडेर विनाश भयो। यी सबै घटनाहरूको मास्टरमाइन्ड भने भगवान श्रीकृष्ण नै थिए।

प्राचीन इतिहासको अध्ययन आफैमा कठिन काम हो। अझ मिथकहरूको प्रामाणिकता खोज्नु झनै कठिन हुन्छ। घटना घटित भएको निकै लामो समयसँगै यसका बचेखुसेका अवशेषहरू पनि विलय भएर जान्छन्। जसले गर्दा सत्यतर्फको यात्रा झन् कठिन हुन पुग्छ। यस्ता ऐतिहासिक विषयको अनुसन्धान गर्दा यथेष्ट तथ्य र प्रमाणहरू नभेटिने कारण कहिलेकाही अन्य सम्बद्ध चीजहरूको उचित विवेचनाद्वारा पनि निष्कर्षमा पुग्नुपर्ने हुन्छ।

जसका लागि तत्कालिन समय र परिवेशमा रचिएका कला, कृति र साहित्यहरूको पनि अहम्‌ भूमिका रहन सक्दछ। तसर्थ, ग्रीक ट्रोजन युद्धको ऐतिहासिकता बुझ्न इलियाड र ओडिसी महत्वपूर्ण सन्दर्भ सामाग्री हुनसक्छन् भने पूर्वीय सभ्यतामा तात्कालिक समयको अध्ययन गर्न व्यास र वाल्मीकिद्वारा रचित महाभारत र रामायण एउटा गतिलो खुराक हुन सक्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.