चार जनाविरुद्ध किटानी जाहेरी, अनुसन्धान सुरु

|

बैतडी : बैतडीमा बलात्कार घटना मिलापत्र गरेर गाउँमै मिलाउन खोजिएको कुरा बाहिर आएको छ। लैगिंक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेकै समयमा सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना बाहिर आएको हो।

१८ वर्षीया किशोरीमाथि सोही ठाउँका दीपक सिंह धामीले बलात्कार गरेको घटना झण्डै ६ महिनापछि बाहिर आएको हो। गत जेठमै बलात्कार भए पनि त्यो बेला पीडित पक्षलाई एक तोला सुन दिने भन्दै त्यो घटना गाउँमै मिलाएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको हो।

१८ वर्षीया किशोरीमाथि साँझको समयमा बलात्कार भएको र त्यो घटनालाई गत असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘पीडित पक्षसँगको प्रारम्भिक कुराकानीपछि किशोरीमाथि बलात्कार भएको देखिएको छ। उनीहरुलाई सुन दिने प्रलोभनमा घटना लुकाएको पाइएको छ। हामीले यो घटनामा सूक्ष्म रुपले अनुसन्धान बढाएका छौं।’

कार्तिक मसान्तमा पीडित पक्षलाई एक तोला सुन दिने सर्त राख्दै तमसुक बनाइएको थियो। कार्तिक मसान्तमा सुन दिनुको सट्टा पीडकले पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटना बाहिर आएको हो।

यो घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उनले भने, ‘यो घटनामा संलग्न सबैको पहिचान गरेर कानुन अनुसार कारबाही हुन्छ। यसमा प्रहरीले अनुसन्धान बढाइसकेको छ।’ 

गत जेठमा किशोरीमाथि बलात्कार भएको भन्दै पीडित पक्षले ४ जनाको नाममा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उनले भने ‘पीडित पक्षले चार जनाको नाममा जबर्जस्तीकरणी मुद्दामा जाहेरी दर्ता गराएको छ। सो मुद्दामा हामीले अनुसन्धान सुरु गरिसकेका छौं। बलात्कार गर्ने र यो मुद्दालाई ओझेल पार्नेका नाममा जाहेरी आएको छ।’

अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले कसको नाममा किटानी जाहेरी आएको छ भन्ने खुलाएको छैन। ‘पीडित पक्षले चार जनाको नाममा जाहेरी दिएका छन्। अहिले नाम गोप्य राखेका छौं,’प्रहरी नायव उपरीक्षक अधिकारीले भने।

सरकारले भर्खरै बलात्कारका घटना लुकाउने वा मिलाउनेलाई कानुनी कारबाही गर्ने हिसाबले अध्यादेश ल्याएको सन्दर्भमा बैतडीमा गाउँमै मिलाउन खोजिएको बलात्कारको घटना बाहिर आएको हो। योसँगै जिल्लामा लकडाउन यता बालिका तथा किशोरीमाथि बलात्कार ४ वटा घटना प्रहरीमा दर्ता भइसकेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.