६ महिनामा सक्नुपर्ने काम १७ महिनामा पनि सकिएन

|

भद्रपुर (झापा) : भद्रपुर नगरपालिका कार्यालयले नयाँ योजना ल्याउने, ठेक्का लगाउने र योजनालाई बीचैमा अलपत्र छाड्ने गरेको पाइएको छ।
 

दशकौंदेखि साँघुरो रहेको भद्रपुर बजार क्षेत्रको सडकलाई फराकिलो गर्ने योजना अनुसार प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५/७६ मा समपुरक कोष मार्फत नगरपालिकालाई सशर्त अनुदानबाट एक करोड रुपैयाँबजेट विनियोजन गरेको थियो। सोही बजेटबाट नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ५, ६ र ८ जोडिएको संगम चोकदेखि जनता चोकसम्म दुवैतर्फ पक्की नाला निर्माणका लागि ठेक्का लगाएको थियो।

२०७६ असार १८ मा एबी निर्माण सेवा भद्रपुरका सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजार रुपैयाँमा लिएका थिए। सम्झौताअनुसार निर्माण कार्य २०७६ पुस १९ मा सम्पन्न भइसक्नुपर्नेछ। तर, अहिलेसम्म सडकको निर्माण कार्य सम्पन्न भएको छैन। ५४० मिटर सडक खण्डमा दक्षिणी तर्फको मात्र नाली निर्माण गरी छाडिएको छ। उत्तरतर्फको नाली निर्माणको काम अधुरै छ।

अहिले नगरपालिका र निर्माण कम्पनीबीचको विवादले नाली निर्माण कार्यले गति लिन सकेको छैन। निर्माण कम्पनीका सञ्चालक श्रेष्ठका अनुसार सडक नाली निर्माणको ठेक्का लिँदा नै ठाउँ खाली गर्ने सम्झौता नभएको बताउँछन्। 

‘सडक खाली गर्ने जिम्मा नगरपालिकाको हो। ठाउँ खाली भएको स्थानमा नाली र कल्भर्ट निर्माण गरिसकेका छौं,’ ठेकेदार श्रेष्ठले भने, ‘नगरपालिकालाई पटकपटक ठाउँ खालीका लागि लिखित पत्राचार गरिसकेका छौं, तर अहिलेसम्म सुनवाइ भएको छैन।’नाला बनाउने ठाउँ खाली भए एक महिनाभित्रै काम सम्पन्न गर्ने उनको भनाइ छ।

यता नगरपालिकाका इन्जिनियर योगेन्द्र रंजितकारले ठाउँ खाली गराउन उद्योगी सुरेश अग्रवाललाई पत्राचार गरिसकेको बताएका छन्। ‘ठाउँ खाली गराउन उद्योगी सुरेश अग्रवाललाई पत्राचार गरिसकेको छौं,’ रंजितकारले भने, ‘तर उहाँले ठाउँसँगै रुख हटाउनु भएको छैन। त्यही भएर काममा ढिलासुस्ती भएको हो।’

नगरपालिकाले बजार फराकिलोसँगै सडक विस्तारका लागि अहिले पहिलो चरणमा सडक नाला बनाउने योजनामा अघि सरेको छ। संगमचोकदेखि भद्रपुर बजार हुँदै भन्सारसम्मको नालासँगै सडक विस्तार गर्ने नगरपालिकाको मुख्य योजना हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.