|

म्याग्दी : बेलायती प्रसारण निगम (बीबीसी) ले यो साता विश्वका १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दा त्यसमा नेपालकी सपना रोका मगरले स्थान बनाइन्‌। त्यसअघि उनले गरेका कामबारे समाचार सामग्रीहरू फाट्टफुट्ट आउने गरेपनि उनले गरिरहेको परोपकारी कामबारे धेरै मानिसहरूलाई थाहा थिएन। यो सामग्रीमा हामी उनै सपनाको सपनाका त्रासदीजस्तै भोगाइ र मानिसहरूको परम्परागत सोचाइका पर्खाल भत्काउँदै उनले गरिरहेको एक अद्‌भूत काम उतार्दैछौं।

​​नेपाली समाजमा छोरीहरू पनि अचेल बाबुआमाको काजक्रियामा बस्न थालेका छन्‌। तर, घाटमै गएर आफन्तको शव जलाउने र भष्म बनाएर नदीमा बगाउने काममा महिलाहरू संलग्न भएको विरलै देखिन्छ।

बीबीसी वुमन सपना रोकामगर ती नारी हुन्‌ : जसले बेवारिस अवस्था रहेका र कुहिन पुगेका शवलाई पशुपति आर्यघाटमा ल्याएर दाहसंस्कार गर्छिन्‌। पछिल्ला ६ महिनामा मात्रै उनले १ सयभन्दा धेरै यस्तै शवहरू दाहसंस्कार गरिसकेकी छिन्‌। 

'बीबीसीले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा पर्नु मेरा लागि गर्वको विषय हो,' सपना भन्छिन्‌, 'बेवारिस लासको व्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहन थप बल पुगेको छ।'

यो खबर आफूले समाचारबाट थाहा पाएको उनले बताइन्। कलिलै उमेरमा सामाजिक तथा मानवीय सेवामा लागेकी सपनालाई समाजमा प्रभाव छोड्न सफल १ सय महिलाको सूचीमा बीबीसीले छनौट गरेको हो। सपनालाई समेटिएको सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत विश्वभर दर्जनौ| लोकप्रिय र संघर्षशील महिलाहरू छन्।

पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा सपनालाई काठमाडौं लगायत देशभरका बेवारिस शव दाहसंस्कारसँग जोडेर चर्चा गरिएको छ।

बेवारिस लासलाई दागबत्ती दिँदा आफूले यो सम्मानको अपेक्षा नगरेको, तर विश्वभरका महिलाका लागि प्रेरणाको स्रोत बन्ने अवसर यो छनोटले दिएको सपनाले बताइन्‌। 

सामाजिक कार्य

यसवर्ष दशैँ तिहारमा लामो समयसम्म घरमै बसेकी सपनाले गाउँमा पनि सामाजिक कार्यलाई निरन्तरता दिइन्। उनले विपन्नलाई खाद्यान्न सहयोग तथा बालगृहका बालबालिकालाई समेत विभिन्न सहयोग गरिन्। विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिस शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी सपना उक्त संस्थाको राष्ट्रिय संयोजकसमेत हुन्। उनले आफ्नो गृहजिल्ला म्याग्दीमा समेत विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने गरेकी छिन्।

को हुन् सपना ?

सपनाले २०७३ सालमा गाउँकै महेन्द्ररत्न माध्यमिक विद्यालयबाट एसइइ दिएकी थिइन्। त्यसपछि गाउँ छाडेकी उनी सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भइन्।

बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रिएपछि केही समय बुटवल र पोखरा बसिन्। गलत संगतमा फसेपनि सपनाले कक्षा १२ सम्मको पढाई सकेकी छिन्। निकै निराश भइ आत्महत्याको प्रयाससम्म गरेकी उनै सपनाले आज बीबीसी वुमनमा स्थान जमाउँदै समग्र नेपालीहरूलाई जीवन र कर्मप्रति आशा जगाइदिएकी छिन्‌। 

पहिले जे भयो : भै गयो। असंख्य भोगाइमा दपेटिएपनि जीवनको हिस्सा धेरै बाँकी छ। सपनाले उहिल्यै निर्णय गरिसकेकी हुन्‌ : 'बाँकी जीवन समाजसेवामा लगाउँछु।' किशोरावय र यसका उतारचढावका अनेक घनचक्करमा फस्दा गुमेको आफ्नो परिचय स्थापित गर्न सपना सामाजिक कार्यमा निरन्तर सक्रिय भइन्। 

ललितपुरमा बस्दै आएकी सपनाले दैनिकजसो पशुपतिमा पुगेर आफ्नो जिम्मेवारी पूरा गर्ने गरेकी छन्। दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा भेटिने गरेकी सपना बेवारिस अवस्थामा भेटिएका शवको आफन्त बनेर दागबत्ती दिन्छिन्।

पशुपतिमा सधैँ मृतकका परिवार, आफन्तको रूवाबासी हुने, मलामीको भीडभाड हुन्छ। तर, उनले दागबत्ती दिने चिता आसपासमा न कसैको रूवाबासी, न कुनै भीड हुन्छ। ‘कुनै समय म पनि सडकमै थिएँ, सडकमा र अन्यत्र ज्यान गुमाएका मानिसहरूको बेवारिस शवले कम्तिमा चितामै संस्कारगत अस्तित्व पाउनुपर्छ,’ उनले भनिन्।

आर्यघाटमा शव जलाउँदा माक्स लगाएर, हातले नाक थुनेर आवतजावत गर्दा सपनालाई केही हुँदैन। विभिन्न ठाउँमा फेला परेका बेवारिस शवलाई पोष्टमार्टम गरेर आर्यघाट ल्याएपछि दाउरा र पराल मिसाएर तयार गरिएको चितामा सपनाले दागबत्ती दिने गरेकी छिन्। ‘अपरिचितको शवमा दागबत्ती दिँदा दिवंगत आत्माले शान्ति पाउँछ, मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ,’ उनले भनिन्।

बेवारिसलाई जमिनमा गाड्न खोज्दा समेत धार्मिक परम्परा अनुसार नै दागबत्ती दिनुपर्ने अडान सपनाले लिन्छिन्‌। उनले हालसम्म १ सय बेवारिस शवमा दागबत्ती दिइसकेकी छिन्‌।

बेवारिसकी 'वारिस'

छोरीले बाबुआमाको अन्तिम संस्कार गर्नुहुन्न भन्ने प्रचलनलाई चुनौती दिँदै बेसहारा जीवन व्यतीत गरी मृत्युवरण गरेकाहरूका एकल सन्तान बन्दै आएकी छिन् सपना।

पशुपति आर्यघाट जाँदा धेरैलाई लाग्दो हो : कलिलो उमेरमा दागबत्ती दिनुपर्ने कति अभागी छोरी रहिछन्। तर जब तपाईं दिनहुँजसो पशुपतिको आर्यघाट जानुहुन्छ, तब मात्र थाहा पाउनुहुन्छ : सपना आफन्तलाई होइन, सडकमा सड्न बाध्य शवलाई व्यवस्थापन गर्ने काम गर्छिन्।

कोरोना संकट देशैभरि चुलिएसँगै आफ्नै परिवारको मृत शवदेखि मानिस तर्किइरहँदा उनी भने वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका शवगृहमा दुर्गन्धित बनेका शवहरूलाई उठाइरहिन्। उही माया र उही सम्मानसाथ अन्तिम बिदाइ गर्न लागि परिरहिन्।

आफूसँगै उमेरका किशोर किशोरीहरू कोही पढ्न त कोही पैसा कमाउन लागिपरिरहँदा उनी भने संक्रमणको जोखिम मोलेरै भएपनि अलपत्र परेका लाश जलाउन लागिरहेकी छिन्। लाश जलाए बापत न त उनले कुनै संस्थाबाट तलब पाउँछिन्, न त कसैबाट सहयोग नै। कर्मबुबा विनयजंग बस्नेतको सहयोगमा निरन्तर सेवामा लागिपरिरहेकी भेटिन्छिन् सपना।

३ सय बेवारिस शवकी संरक्षक

१८ वर्षको कलिलो उमेरमै उनले ३ सयवटा बेवारिस शवलाई हिन्दु परम्पराअनुसार जलाएर अन्तिम संस्कार गरिसकेकी छिन्।

सपना हरेक बिहान अस्पतालको शवगृह जाँदा सडेर गन्ध आइरहेको क्षतविक्षत शवहरू भेटिन्छन्।

उनी भन्छिन्, ‘म पनि सडकमा हुँदा यसरी नै मर्नुपर्दो हो, जिउँदो होउन्जेल माया पाउन नसकेकी मैले मरेपछि पनि सम्मानसाथ स्वर्ग जान पाउँदिन होला भन्ने लाग्थ्यो, तर जब मैले विनय बस्नेत बुबाको साथ पाएँ : तब यी सबै बेसहारा मृत शवहरूको सन्तान बन्छु भन्ने हिम्मत आयो।’ एक वर्ष अगाडि पशुपतिजंग बस्नेत, जो पशुपतिमा लाश जलाउने काम गर्दथे, उनैले सपनालाई शव व्यवस्थापनको हिस्सा हुन अनुमति दिए।

मृत्युको मुखमा पुगेकी सपना मानिसको मृत्युलाई घाटमा थप बुझ्न पाइन्। शुरू-शुरूमा डरले शवको छेउमा पुग्न पनि डराउने उनी अचेल मायाको भावले हेर्छिन्, सुम्सुम्याउँछिन्, अनि हिन्दु धर्मअनुसार अन्तिम संस्कार पनि गर्छिन्।

कोरोना संक्रमणमा झन् सक्रिय

कोरोना संक्रमण बढेसँगै बेवारिस शवहरू पनि निरन्तर व्यवस्थापनमा लागिरहेकी सपनालाई 'शवबाट संक्रमण हुन्छ, अब गर्दिनँ' भन्ने कहिल्यै लागेन।

उनी भन्छिन्, ‘कोरोना बढेपछि रोग सर्छ, अब गर्दिनँ भन्ने नै भएन, बरु अझै बढ्न सक्छन्, अझै धेरै मानिस सडकमै कुहिएर मर्न सक्छन् भनेर पूर्ण तयारीका साथ बसेकी थिएँ, सुरक्षाको मापदण्ड पूरा गरेरै भए पनि शवको अन्त्येष्टि गर्दै आएकी छु।’

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निरन्तर बेवारिस सब जलाउन लागिपरिरहेकी सपनाले पछिल्लो समय सडकमा बसेका वृद्धवृद्धालाई सहयोग गरिरहेकी छिन्‌।

सपनाको सपना

सपना शव व्यवस्थापन गरेकोमा मात्र खुसी छैनन्। उनी अब कसरी यी सडकमै मर्न बाध्य हुने मानिसलाई स्वस्थ जीवन दिन सकिन्छ भन्नेमा सधैँ चिन्तित छिन्। पछिल्लो समय कामको चर्चा चुलिएसँगै धेरै समाजसेवी साथीहरूसँग उनको भयो।

उनीहरूको सहयोगमा नै अहिले उनी बेवारिस मानिसलाई खानेकुरा दिने काममा पनि सक्रिय छिन्। दैनिक १ सयभन्दा बढीलाई सडकमा खाना खुवाउन पाउँदा खुसी रहेको उनले बताइन्। कुनै बेला आत्महत्या गर्ने निर्णयमा समेत पुगेकी सपनालाई आफ्नै कर्मले अहिले चर्चाको शिखरमा पुर्‍याएको छ।

अँध्यारो जीवनलाई आफैँले उज्यालो बनाइन् : शिक्षक

महेन्द्र रत्न माध्यमिक विद्यालयका शिक्षक हरि अधिकारीले आफूले पढाएको विद्यार्थी विश्वकै उत्कृष्ट महिलामध्ये एकमा छनोट भएकोमा विद्यालय गौरवान्वित भएको बताए। 'उनले सफलता पाउँदा उनकै शिक्षक म निकै खुशी भएको छु, गर्व लागेको छ,' अधिकारी भन्छन्‌।

​शिक्षक अधिकारीका अनुसार सपना सानैदेखि अति मिलनसार र नम्र स्वभावकी छात्रा थिइन्। एसइइ सकेपछि केही समय कक्षा ११ मा सोही विद्यालयमा पढेर पछि बेनी झरेकी सपना पढाईमा मध्यम तथा स्वभावमा असल भएको शिक्षक अधिकारीले बताए।

विद्यालयमा रहुन्जेलसम्म उनले कुनै पनि नराम्रा काम गरेकी थिइनन्। कुलतजन्य क्रियाकलापमा लागेको सुनेको, तर आफूलाई जानकारी नभएको शिक्षक अधिकारीको भनाई छ।

अधिकारीले भने ‘एसइइ सकेपछि केही समय कक्षा ११ मा यहीँ पढेकी हुन्, पछि बेनी झरेपछि उनको जीवनको अँध्यारो पाटो शुरू भयो। यद्यपि; अँध्यारो जिन्दगीमा उज्यालो ल्याउन उनैले प्रयास गरिन्।'

'साथीहरूको संगतले उनले बाटो बिराएकी थाहा भयो, तर पछि आफू गलत बाटोमा लागेकी छु भन्ने बोध हुनासाथ समाज सेवाको बाटो रोजिन्', अधिकारी भन्छिन्, 'उनले भोगेको जिन्दगी उनका सम्पत्ति हुन्।' उनको उपलब्धि हरेक व्यक्तिका लागि मार्गदर्शन हुनसक्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.