उच्च-जोखिम समूहमा रहेकालाई जोगाउँ

|

काठमाडौं : केही दिनयता देशभर चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै जारी कोरोना महामारी थप फैलने चिन्ता थपिएको छ।

कोरोना भाइरसको हटस्पट बनेको रहेको काठमाडौं उपत्यकामा पनि चिसो बढेसँगै ज्वरो र रूघाखोकीका बिरामी थपिइरहेका छन्‌। कोरोना भाइरसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरू धेरै जोखिममा रहने र उनीहरूलाई बढी असर गर्ने हुँदा संक्रमण तीव्र रूपमा फैलिरहेका बेला चिसो मौसम झनै जोखिमपूर्ण रहेको विज्ञहरूले बताउँदै आएका छन्‌।

अन्य मौसममा भन्दा चिसोमा भाइरस बढी सक्रिय हुने र शरीरमा भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकोले चिसो मौसममा भाइरसको जोखिम बढी हुन्छ। अझै जाडोमा वृद्धवृद्धाको श्वासप्रश्वासमा समस्या बढ्दै जाने चिकित्सकहरू बताउँछन्।।

चिसो मौसममा सामान्यतया: निमोनिया तथा अन्य भाइरस सक्रिय हुने समय भएकाले पनि यसपटक जोखिम समूहमा रहेका (बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगी) हरू कोभिड अन्य संक्रमणको जोखिममा छन्‌। यी समूहका व्यक्तिहरूमा संक्रमण हुन नदिन घरपरिवारका सदस्यले नै विशेष ध्यान दिनुपर्ने बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुन।

उनले भने, ‘यसपटक हामीलाई चिसो मौसममा संक्रमण फैलन नदिनु र जोखिमयुक्त समूहमा रहेकाहरूलाई जोगाउनु नै मूख्य चुनौती रहेको छ, कोरोना लागेको व्यक्तिलाई १०० डिग्रीमाथि ज्वरो आउने, खोकी शुरू भएको ५ देखि १० दिनमा श्वासप्रश्वासमा समस्या देखिने हुन्छ, थकानसमेत महसुस हुन्छ। सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने र पछिल्लो समय पखाला लाग्ने समस्या पनि देखिएको छ। त्यसैगरी, खाने कुराको स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण हो।'

कन्ट्याक्ट्ट ट्रेसिङ कम हुँदा थोरै संक्रमित पहिचान

पछिल्ला केही दिनदेखि संख्यात्मक रूपमा संक्रमणदर घट्दै गएको देखिएपनि ढुक्क हुनुपर्ने समय नरहेको डा. पुनले बताए। उनले भने, ‘हुन त हरेक भाइरस संक्रमण एउटा उच्च विन्दुमा पुगेपछि संक्रमण  फैलने दर कम हुँदै जान्छ, तर हाम्रोमा अहिलै संक्रमण घटिसकेको छैन, पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङ कम हुँदा संक्रमितको संख्या घटेको देखिएको हो।‘

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा १ लाख ४८ हजारदेखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिनसक्ने अनुमान गरिसकेको छ। मन्त्रालयको हेल्थ सेक्टर र्‍यापिड एक्सन प्लान २ मा कात्तिकदेखि माघ महिनासम्म सामान्य अवस्था रहे थप १ लाख ४८ हजारसम्म र खराब अवस्था आएमा ३ लाखसम्म संक्रमित थपिने प्रक्षेपण गरेको मन्त्रालयका एक अधिकारीले बताए। चिसो मौसम शुरू भएसँगै संक्रमण बढ्ने अनुमान गर्दै मन्त्रालयले संक्रमण नियन्त्रण निम्ति नयाँ कार्ययोजना पनि बनाएको छ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा हालसम्म ६० वर्षभन्दा बढी उमेरका २० हजार ८ सयभन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्। तथ्यांक अनुसार २ लाख २७ हजार ६ सय ४० जना संक्रमितमध्ये २० हजार ८ सय ८८ जना वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्‌। संक्रमित हुनेमा ८ हजार ३ सय १९ महिला र १२ हजार ५ सय ६९ पुरुष रहेका छन्।

६१ वर्षदेखि ७० वर्ष उमेर समूहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन्। यो उमेर समूहका १२ हजार २ सय १३ जना रहेका छन्। त्यस्तै  ७१ देखि ८० वर्ष उमेर समुहका १ हजार १ सय ४ र ८० वर्षभन्दा माथिका २ हजार ५ सय ७१ जना वृद्धवृद्धा संक्रमित भएको मन्त्रालयको तथ्यांक छ।

संक्रमित हुने वृद्धवृद्धा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा १३ हजार ३ सय ३७ जना रहेका छन्।  मन्त्रालयको विवरण अनुसार पछिल्लो समय मृत्यु हुने संक्रमितमध्ये धेरै जेष्ठ नागरिक रहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.