विद्यार्थीको भविष्य बिगार्नुभन्दा मापदण्ड अपनाएर पढाउन सुझाव

|

काठमाडौं : कोभिड–१९ का कारण चैत महिनादेखि नै स्कुल,कलेजको पठनपाठनका क्रियाकलाप प्रभावित बनेका छन्। सरकारले शैक्षिक गतिविधिलाई चलायमान राख्‍न वैकल्पिक प्रणालीबाट सिकाइलाई अगाडि बढाएको छ। तर,पनि कतिपय विद्यार्थी इन्टरनेट लगायतका प्रविधिबाट वञ्चित छन्।

त्यसो त सरकारले लामो समयसम्म भएको बन्दाबन्दीपछि कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट  प्रणालीबाट खोल्न दिने गरी ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ जारी गरिसकेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न स्वीकृति दिएसँगै कोरोना जोखिम नभएका जिल्लाका विद्यालय खुल्न थालेका छन्। 
लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका सबै विद्यालय मंसिर ३ गतेबाट सञ्चालनमा आएका छन्।

त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा–५ स्थित श्री भगवती माध्यमिक विद्यालयलगायत अन्य जिल्लाका विद्यालय सञ्चालनमा आइसकेका छन्। 

यद्धपि, उपत्यकामा भने कोरोना संक्रमण अझै फैलिरहेकोले पूर्णरूपमा विद्यालय सञ्चालनमा आउन सकेको छैन। जसले गर्दा विद्यार्थी चिन्तित भएर घरमा बस्न बाध्य छन्। काठमाडौंकै केही विद्यालय भने सञ्चालनमा आएका छन्। शंखरापुर नगरपालिकाका प्रवक्ता हितमान तामाङले नगरभित्रका विद्यालय सञ्चालनमा आइसकेको जानकारी दिए।

उनले भने,‘सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर यहाँका निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएको छ।’ उनका अनुसार नगरभित्र सामुदायिक विद्यालय २२ र निजी विद्यालय ७ वटा छन्।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पनि यही मंसिर १६ गतेबाट विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको नगरका प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिएका छन्। त्यही नगरपालिकाका केही विद्यालय भने केही समय अघिबाटै सञ्चालनमा आएका छन्। 

तत्काल विद्यालय सञ्चालन गर्न सकिन्न’

उपत्यकाको भक्तपुर र ललितपुर जिल्लाभन्दा बढी  काठमाडौं जिल्लामा अहिले धेरै कोरोना संक्रमित भेटिएका छन्। त्यसो त काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ।

‘उपत्यकामा अझै कोरोना संक्रमणको जोखिम छ,’कामपा शिक्षा विभागका प्रमुख नवराज ढकालले भने,‘तत्काल विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन। अहिले कक्षा–१२ को परीक्षा भइरहेको छ। परीक्षा सकिए पनि उपत्यका नगरपालिका फोरमको बैठकले यस विषयमा के निर्णय हुन्छ, त्यसपछि मात्रै थप निर्णय हुन्छ।’ महानगरपालिकाभित्र ९१ सामुदायिक विद्यालय र पाँच सयभन्दा बढी संस्थागत विद्यालय छन्।

प्रारम्भिक छलफलमै छौँ’

ललितपुर महानगरपालिका शिक्षा विभागका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले विद्यालय सञ्चालनबारे छलफलकै क्रममा रहेको बताउँछन्। ‘हामीले अहिलेसम्म विद्यालय सञ्चालनको लागि कुनै निर्णय गरेका छैनौँ,’उनले भने,‘ के, कसो गर्ने भनेर प्रारम्भिक छलफल भने भइरहेको छ। १२ को परीक्षा सकिएपछि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्छौँ।’

तत्काल विद्यालय सञ्चालन गर्नुहुन्न

यता, सरकारले स्थानीय तहलाई कोरोना संक्रमण नभएका जिल्लाका विद्यालयहरू सञ्चालन गर्न दिने निर्णयमा नेपाल अभिभावक महासंघको बिमति छ।

महासंघका अध्यक्ष शुप्रभात भण्डारी भन्छन्,‘अहिले पनि कोरोना जोखिम कायमै छ। सरकारले बिना तयारी र छलफलबिनै कार्यढाँचा जारी गरेर गलत काम गरेको छ। स्कुल सञ्चालन गरेर भोलि हाम्रो छोराछोरीलाई केही तलमाथि भइहाल्यो भने यसको जिम्मेवार को हुन्छ?’

उनले विद्यालय सञ्चालनमा आउँदा विद्यार्थीलाई कोरोना संक्रमण भएर जुम्लाका विद्यालय पुनः बन्द भएको पनि उदाहरण दिए। 

यस्ता छन् विज्ञका सुझाव

उपत्यकामा कोरोना संक्रमण जोखिम अझै भएकाले विद्यालय सञ्चालन गर्दा कोरोना संक्रमण फैलिने हो कि भन्दै अझै कतिपय विद्यालय अन्योलमै छन्। विद्यालय सञ्चालनको  विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी भन्छन्,‘अब यसरी नै विद्यालय बन्द गरेर बालबालिकाको भविष्य बिगार्नु हुँदैन। अब विस्तारै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्दै जानुपर्छ।’

उनका अनुसार कोरोना संक्रमणबाट बच्न विद्यालय कक्षा कोठामा एक दिन एक साइडको बेन्चमा कम विद्यार्थी राखेर सामाजिक दूरी कायम गराउँदै पढाउनुपर्छ। भोलिको दिन त्यस बेन्चमा विद्यार्थी राख्नु हुँदैन। सेनिटाइज गर्नुपर्छ। त्यसबेला अर्का साइडको बेन्चमा विद्यार्थी राखेर फेरि पढाउनुपर्छ।

‘विद्यालयमा पहिला बिहान राखिने लाइन बन्द गर्नुपर्छ,’उनले भने,‘ विद्यार्थीहरूलाई अनिवार्य मास्क लगाउन भन्नुपर्छ। विद्यालयले विद्यार्थीको ज्वरो नाप्ने व्यवस्था गर्नुपर्छ। केही समस्या नआओस भनी सकेसम्म एक विद्यालयमा कम्तीमा एक जना नर्स राख्ने व्यवस्था गर्नुपर्छ। यति गर्दा संक्रमण फैलिने जोखिम हुन्न।’

सरुवा रोगका विशेषज्ञ डा. शेरबहादुर पुन पनि  विद्यालय, शैक्षिक संस्थाले सबै स्वास्थ्य मापदण्ड पूरा गरेर पठनपाठन र परीक्षा सञ्चालन गरे संक्रमण फैलिने जोखिम कम हुने बताउँछन्।

पुनका अनुसार अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्छ। सेनिटाइजर प्रयोग, साबुनपानीले हात धुने, ज्वरो चेकजाँच, मास्क प्रयोग, फेससिल जस्ता विधि अपनाए संक्रमण फैलिन सम्भावना निकै कम हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.