|

 विराटनगर : कोरोना भाइरस संक्रमणका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा एक सुत्केरीको मृत्यु भएको छ।

मोरङको रतुवामाई नगरपालिका १० घर भएकी २५ वर्षीया सुत्केरीको बिहीबार राति मृत्यु भएको हो। नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएकी उनी पछिल्लो समय घरमै आइसोलेसनमा बसेकी थिइन्।

उनलाई श्वास फेर्न गाह्रो भएपछि बुधबार उनलाई उपचारका लागि परिवारका सदस्यले नोबेलमा भर्ना गरेका थिए। गम्भीर अवस्थामा भर्ना गरिएकी उनलाई तत्काल आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालिए पनि भोलिपल्टै ज्यान गएको हो। मृतक १७ दिनकी सुत्केरी हुन्।

उपचारको क्रममा मृगौलामा खराबी पाइएको र निमोनियाको पुरानै समस्या मृतकमा रहेको नोबेलले जनाएको छ। प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते प्रसूति शल्यक्रिया गरिएको थियो। शल्यक्रियामार्फत छोरी जन्माएपछि उनी सामान्य अवस्थामा घर फर्किएकी थिइन्।

घर फर्किएको चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा भर्ना गरिएकी महिलामा कात्तिक ३० गते पीसीआर परीक्षण कोरोना संक्रमण देखिएको थियो। मृतक परिवारको अनुसार पिसिआर परीक्षण गर्दा पहिलो रिपोर्ट नेगेटिभ र १२ घण्टाभित्र दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो। संक्रमणपछि ५ दिन विराटको आइसीयुमा भर्ना गरिएकी उनलाई स्वास्थ्य अवस्थामा सुधार भएपछि होम आइसोलेसनमा राख्नेगरी परिवारले घर लगेका थिए। तर, पुनः स्वास्थ्यमा समस्या देखिएर बोलीसमेत बन्द भएपछि उनलाई नोबेलमा भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.