सचेत नागरिकले नै भीडभाड बढाए

|

काठमाडौं : मुलुकभर कोरोना संक्रमित संख्या २ लाख माथि पुगिसकेको छ। संक्रमित मृतक संख्या १४ सयभन्दा बढी भइसकेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही सातायता कोरोना संक्रमित संख्या घट्दै गएको छ। संक्रमित संख्या घटेकाले मानिसको चहलपहल सामान्य भइसकेको छ। 

उपत्यकालगायत मुलुकभरका विभिन्न स्थानमा भीडभाड बढदै गएको छ। लाग्छ हेर्दा कोरोना सकिएर मानिसको जनजीवन सामान्योन्मुख गएको देखिन्छ। बजार वा चोक-चोकमा भीडभाड बढिरहेको छ। सार्वजनिक यातायातमा मानिस सामाजिक दूरी र स्वास्थ्य मापदण्ड नअपनाई यात्रा गरिरहेका छन्।

अहिले धेरै मानिस कोरोना कहरमा पनि लामो यात्राको लागि निस्कन थालेका छन्। विभिन्न स्थानका हरियाली पार्कमा अवलोकन गर्नेको संख्यामा बढ्न थालेको छ। कोरोना संक्रमित बढेपछि लकडाउन भएपछि धेरैले आफ्नो काम घरभित्रै रहेर गर्न थालेका थिए। कोरोना संक्रमित शून्यमा नझरे पनि अहिले मानिसहरु प्राय कार्यालय जान थालिसकेका छन्। 

सिनेमा हल, जिम हल, शैक्षिक संस्था र पार्टी प्यालेसबाहेक होटल तथा रेष्टुरेन्ट खोलिसकेका छन्। नियमित अन्तर्राष्ट्रिय पनि खुल्ने क्रममा छन्। सरकारको रणनीति र नागरिकको जीवनशैली देख्दा नेपालमा कोरोना कहर सकिँदै गएको जस्तो भएको छ। कोरोना कहर समाप्त नहुँदै जीवन सहज हुदै जानुले अब जीवन सामान्योमुख तर्फ गएको आँकलन गर्न सकिन्छ।

'शिक्षित वर्गले कोरोनाको त्रास बढाए'

कोभिडको त्रासले लामो समयसम्म घरमा बसेका नागरिक अहिले स्वास्थ्य मापदण्डको पालना गरी बाहिर निस्कनुले जीवन सामान्यतर्फ गइसकेको भनेर बुझ्न सकिने प्रा.डा. समाजशास्त्री डिल्लीराम दाहाल बताउँछन्। लक्षण भएका संक्रमित भन्दा नभएका संक्रमितहरु बढी घरमा बस्ने गरेकोले पनि ८-१० दिनमा स्वास्थ्य मापदण्ड अपनाउँदै बाहिर निस्कन थालेकोले जीवन सामान्य बन्दै गएको हुन सक्ने उनको दाबी छ।

'कोरोनाको बढी मनोवैज्ञानिक त्रास छ। नेपालीले यसलाई सामान्य रुघाखोकी सम्झेर बाहिर निस्कन थालेका छन्,' उनले भने,'सधैं घरमा बसेर पनि नहुने आफ्नो जीवन चलाउनका लागि भए पनि काम गर्न निस्केका छन्। अहिले विदेशमा खोप निर्माणको चर्चा भएकोले पनि बाहिर निस्केका हुन सक्छन्।'

काम गरी खाने वर्गभन्दा पनि शिक्षित वर्गका मानिसले त्रासमा फैलाएको उनको दाबी छ। सावधानी अपनाएर जीवनयापन सहज बनाउन सकिने उनको तर्क छ। स्वास्थ्य मापदण्डको नियम पालना गरी नियमित काम गर्न सकिने दाहालको बुझाइ छ।

नेपालमा भन्दा बढी संक्रमित भएको छिमेकी मुलुकमा मानिसको भीड बढी रहेको उनले जानकारी दिए। सरकारले पनि सीमा तथा अन्तर्राष्ट्रिय उडान खुला गर्नुले जीवनयापन सहज हुने संकेत गरेको उनले प्रस्ट पारे।

'बाहिर निस्कँदा स्वास्थ्य मापदण्डको ख्याल गरौ'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारी भन्छन, ‘कोरोनाको डर हटेर होइन मानिसहरुको आफ्नो बाध्यताले पनि बाहिर निस्केका छन्। काम गरिखाने मानिस बढी छन्। उपत्यकामा संक्रमितको संख्या कम हुनासाथ हौसिने बेला भएको छैन।'

दैनिक संक्रमित थपिएका छन्। अहिले पनि कोरोनाको जोखिम बढिरहेको छ। नागरिकले हेलचेक्रयाइँ गर्न नहुने उनको भनाइ छ। नागरिक आफैं सचेत नभएकाले पनि कोरोना नियन्त्रणमा नआएको उनले बताए।

नागरिकलाई संक्रमितको संख्या कम भएर मानिसको चाप बढेको हो भन्ने भ्रम पाल्न नहुने उनको भनाइ छ।

‘भीडभाडमा मानिस जाने सबैले मास्क लगाउनुपर्छ,’ उनले भने, ‘आफैंले सरकारले केही गरेन भन्ने यसमा हाम्रो पनि दायित्व छ।’ उनका अनुसार सामाजिक दूरी कायम, मास्क र सेनिटाइजर अनिवार्य गर्नुपर्छ। सहरमा बढी काम गरी खाने मानिसको भीडभाड बढेकाले तिनीहरुलाई स्वास्थ्य चेतना बढाउन सकिन्छ।

'खोप निर्माण हुँदैमा कोरोनाको जोखिम घट्दैन'

खोप निर्माण भएका समाचार सार्वजनिकपछि अहिले नागरिकमा उत्साह थपिएजस्तो भए पनि कोरोना शून्यजस्तो भएर बाहिर निस्कन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन्। 'संक्रमणको जोखिम घटेको छैन,' उनले भने, 'खोप विदेशमा बनाएको हो। अहिले सबैले प्राप्त गरेको छैन।'

नागरिकले बाहिर काममा निस्कँदा अनिवार्य जनस्वास्थ्यको मापदण्ड पालना गरेर बाहिर निस्किएमा धेरै समस्या नहुने उनले सुनाए। विगतभन्दा धेरै मानिसले स्वास्थ्य मापदण्ड पालना गरेका उनले जानकारी दिए।

नागरिक सचेत भएकाले अहिले पनि संक्रमित संख्यामा कमी आएको उनले जानकारी दिए। कोरोना परीक्षण मात्र निदान नभएको उनको भनाइ छ। यो त पहिचान गर्न गरि आइसोलेट गर्ने माध्यम मात्र भएको उनले प्रस्ट पारे। यसबाट सुरक्षित रहन स्वयं नागरिक जिम्मेवार हुनुपर्ने उनले धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.