तारे होटल सञ्चालन अन्तिम चरणमा

|

सिमरा : नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता तथा गण्डकी प्रदेश तनहुँ क्षेत्र नं १ का संघ‍ीय सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ सातामा एक पटक सिमरा आउजाऊ गर्छन्। श्रेष्ठ शिलान्यास, उद्घाटन वा कुनै सार्वजनिक वा राजनीति भेटघाट कार्यक्रमको सिलसिलामा सिमरा आएका भने होइनन्। 

बाराको सिमरा विमानस्थल नजिकै सञ्चालनको अन्तिम तयारीमा रहेको तीनतारे होटल सँगै, क्लासिक म्याटिर्यस्, ग्यास उद्योग, कृषि, घर जग्गा कारोबारमा उनको अर्बाैं लगानी रहेको भटिएको छ। जसका कारण उनी काठमाडाैंबाट सिमरा पुगिरहन्छन्। 

सिमरालाई केन्द्रबिन्दुमा राखेर श्रेष्ठले २०७२ सालदेखि हालसम्म अर्बभन्दा बढी यस्तै विभिन्न क्षेत्रमा लगानी गरिसकेका छन्।

‘समृद्ध नेपाल सुखी नेपाली बनाउने यात्रामा सिमरा केन्द्रबिन्दु हो र यस ठाउँको महत्वपूर्ण भूमिका भएकोले यसलाई मैले आफ्नो व्यापारिक थलो बनाएको छु’, श्रेष्ठले भने, ‘मेरो राजनीतिक थलो तनहुँ भए पनि व्यापारिक थलो सिमरा नै भएकाले यहाँ आउँछुु’,

नेपालको सबैभन्दा ठूलो औधोगिक करिडोर, पथलैया–वीरगञ्ज ६ लेन बाटो,  पूर्वपश्चिम रेलमार्ग,फास्ट ट्रयाक, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, अम्लेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन र विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’जस्ता ठूला आयोजना सिमरासँग जोडिएका कारण सो क्षेत्रमा गरिएको लगानी सुरक्षित हुने श्रेष्ठको दाबी छ।

‘कानुनले बर्जित गरेकोबाहेक व्यापार, व्यवसाय, पर्यटनका लागि यो क्षेत्र धेरै सुरक्षित छ, लगानीमैत्री वातावरण छ’, उनले भने, ‘सिमरामा मात्रै मेरो १ अर्बभन्दा बढी लगानी छ, तारे होटलमा २० करोड रुपैयाँ लगानी गरिसकेको छु र निकट भविष्यमै बालबालिकाका लागि फनपार्क पनि सञ्चालनमा ल्याउँदै छु, आफ्नो लगानीबाट मात्रै मैले पाँच सयभन्दा बढीलाई रोजगारी व्यवस्था पनि गरिसकेको छु।’ व्यापारिक परिवारका सांसद श्रेष्ठले बारामा घरजग्गा कारोबारमा समेत ठूलो लगानी गरेका छन्।

तनहुँबाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ तथा प्रभावशाली नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ मानिन्छन्। विभिन्न कार्यक्रमका लागि बारा आएका केन्द्रीयस्तरका नेताहरु पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सांसद श्रेष्ठको होटलतिर छिर्ने गर्दछन्।

सबैखाले जातजाति र धर्म विशेषक मानिस बसोबास गर्ने सिमरालाई विगतको मधेस आन्दोलनले समेत खासै प्रभाव पार्न सकेको थिएन। पर्यटकीय हिसाबले प्रदेश २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्ज यही जिल्लामा पनि छ भने छिमेकी मुलुक भारतसँग सबैभन्दा छोटो दूरीमा रहेको सिमरा विमानस्थलले भारतीयलाई काठमाडौसँग नजिक बनाएकोले  सिमरा सबैखाले समृद्धि  केन्द्रबिन्दु मानिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.