|

सिमरा (बारा) : सिमरा विमानस्थलमा थप दुई हवाई कम्पनीले सेवा शुरु गरेपछि यात्रुहरुलाई सहुलियत भएको छ। यसअघि बुद्ध एयरले मात्रै उडान भर्दै आएको थियो।

पछिल्लोपटक यति र श्री एयरलाइन्सले सेवा शुरु गरेपछि सिमरा–काठमाडौं हवाई सेवाको भाडादर समेत घटेको छ। यात्रुहरुले सहजै टिकट पाउन थालेका छन्।

काठमाडौंबाट सिमरा फर्किएका कलैयाका विवेक अधिकारीले विगतको तुलनामा भाडादर घटेको बताए। ‘पहिला काठमाडौं जाँदा तीन हजार १०० रुपैयाँसम्म भाडा तिरेर पनि निटकट पाउँदैनथ्यो,’ उनले भने, ‘आजभोलि टिकट पनि सजिलै पाइन्छ। भाडा पनि घटेको छ।’

तीनवटा हवाई कम्पनीले सेवा दिन थालेपछि पछिल्लो समय दैनिक भाडादरमा समेत उतावचढाव हुने गरेको छ। हाल भाडादर अधिकतम् २८ सय कायम गरिएको छ भने यात्रुहरुको चापको अवस्था हेरेर १४ सय रुपैयाँमा पनि टिकट उपलब्ध हुने गरेको छ।

औद्योगिक करिडोरका उद्योगी, बारा, पर्सा, रौतहट, मकवानपुरमा हुने राजनीतिक कार्यक्रम तथा भेटघाटका लागि आउने राजनीतक दलका नेता तथा कार्यकर्ताहरु, भारतीय पर्यटकहरुसहित सर्वसाधारणहरु दैनिक २५० देखि ३०० यात्रु काठमाडौं जाने गर्दछन्। काठमाडौंबाट सिमरा हुँदै फर्कने यात्रुको चाप भने अलि कम रहेको बुद्ध एयर सिमरा शाखाका इन्चार्ज सुरेशकुमार रेग्मीले बताए। 

हवाई कम्पनीबीच भाडादरमा प्रतिष्पर्धा भएर भाडादर घटेपछि पछिल्लो समय बस र जिपबाट यात्रा गर्नेहरु पनि हवाई यात्रा गर्न थालेका छन्। सिमरा एयरपोर्टमा बुद्ध एयरले दैनिक चार, यतिले तीन र श्री एयरले एक उडान भर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.