|

काठमाडौं : डेनमार्कमा एकजना नेपाली युवाले एक लाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ छात्रवृत्ति पाएका छन्।

प्रत्येक वर्ष डेनमार्कको प्रख्यात एक संस्था एपी मुलर फाउन्डेन्सले प्रशिक्षार्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा सञ्जिव गिरीले जितेका हुन्। उक्त संस्थाले यस वर्ष दुई विधामा सर्वोकृष्ट हुनेलाई पुरस्कृत गरेको थियो। जसमध्ये बेकरी विधामा गिरीले पाएका हुन्। अर्को विधामा भने होम पेन्टिङमा उत्कृष्ट हुनेलाई दिइयो।

सञ्जिवले अन्तिम परीक्षामा उत्कृठ अंक प्राप्त गर्दै रजत पदक पाए। यो पुरस्कार पाउने डेनमार्कमा कार्यरत नेपालीमध्ये गिरी पहिलो व्यक्ति हुन्। उनले पाएका छात्रवृत्तिको रकमले युरोपकै फ्रान्समा गएर थप अध्ययन गर्ने बताएका छन्। फ्रान्स बेकरीमा विश्व प्रख्यात छ।

सावर डो ब्रेडबारे तथा अर्टिसियन बेकिङको तालिम लिने र त्यहाँबाट सिकेको सीप डेनमार्क तथा स्वदेशमै उपयोग गर्ने र चाँडै नै नेपालमा बेकरी स्कुल सञ्चालन गर्ने उनले बताए। 

गिरीले भने, ‘मैले यो पुरस्कार पाउँछु भनेको सोचेको पनि थिइनँ। म काम गर्ने कम्पनीले यस्तो छात्रवृतिको जानकारी दियो र म पढिरहेको जेडबीसी स्कुलले मलाई सिफारिस गरेर सहभागी भए र मैले पुरस्कार जित्छु नै जस्तो लागेको थिएन। छात्रवृत्ति पाउँदा आफू धेरै नै खुसी भए।’

२०४२ सालमा काठमाडौंको नागार्जुन नरपालिकका रामकोटमा जन्मिएका गिरीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायबाट स्नातक गरेका छन्। जेडबीसी रिङ्गस्टेडमा अध्ययन गर्दै टिवोलीको निम्ब र एन्डरसन बेकरीमा काम गर्दै २०१९ मा बेकरीमा स्नातक गरेका छन्। गिरीले ११ वर्षअघि होटल सोल्टी, सोल्टी होटल अन्तरगतै एलएसजी स्काई सेफ तथा होटल द्वारीकाजमा काम गरेका थिए।

हाल डेनमार्कको राजधानी कोपन हेगन एन्डरसन बेकरीमा २०१० देखि मास्टर बेकरको रुपमा काम गरिरहेका छन्। डेनमार्कमा नेपाली बेकरहरुको संख्या नगन्य मात्रै रहेको छ। एन्डरसन बेकरी जापानमा सन् १९५९ मा स्थापना भएको हो । २००८ मा यो कम्पनी डेनमार्कमा स्थापना भएको हो। यो बेकरी हाल विश्वभर फैलिएको छ भने डेनमार्कको टप टेन बेकरीको रुपमा परीचित छ। कोरोनाका कारण यस वर्ष डेनर्माकी महारानीबाट पाउने रजत पदक भने अर्को वर्षको मार्चमा प्रदान गरिने छ। पुरस्कार रकम र प्रमाण प्रदान गरिसकेको छ। 

गिरी बेकरीसम्बन्धी उच्च शिक्षा अध्ययन गर्न सन् २०१० मा डेनमार्क पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.