|

उदयपुर  : अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको सम्झनामा उदयपुरमा श्रद्धाञ्जलि कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। 

शनिबार सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा जिल्ला फुटबल संघ उदयपुरले श्रद्धाञ्जलि तथा मैत्रीपूर्ण फुटबल कार्यक्रम आयोजना गरेको हो। गत बुधबार हृदयघातका कारण संसारकै महान् खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो। यसले विश्वभरिका फुटबलप्रेमीहरु स्तब्ध बनेका छन्। 

१९८६ को विश्वकपमा अर्जेन्टिनालाई उत्कृष्ट एकल प्रदर्शनमा विश्वकप फुटबलको उपाधि जिताएका म्याराडोना संसारभर सर्वाधिक लोकप्रिय खेलाडीको रुपमा चिनिएका थिए।

श्रद्धाञ्जलि कार्यक्रमसँगै म्याराडोनाको स्मृतिमा त्रियुगा नगरपालिका गाईघाटको भेट्रान टिम तथा कटारी नगरपालिकाको भेट्रान टिम बीचको मैत्रीपूर्ण खेल खेलाइएको थियो। 

थरुहट रंगशालामा भएको खेलमा गाईघाटले कटारीलाई ५–३ को गोल अन्तरले पराजित गरेको छ। गाईघाटका लागि एन्फा प्रवक्ता समेत रहेका किरण राई तथा किरण कार्कीले २ र २ तथा कुमार राईले १ गोल गरेका थिए। 

कटारीका लागि कुमार तामाङ, सुवास तामाङ तथा रामबाबु अधिकारीले १ र १ गोल गरे। एन्फाका प्रवक्ता किरण राई, जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीलगायत खेलाडी तथा खेलप्रेमीको ठुलो सहभागिता थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.