ओखलढुंगा : गाउँपालिका केन्द्रमै सञ्चार सुविधा छैन भन्दा अपत्यारिलो लाग्छ। तर, ओखलढुंगाको चिसंखुगढी गाउँपालिका केन्द्रमा अझै सञ्चार सुविधा छैन। गाउँपालिका केन्द्र सञ्चारविहीन अवस्थामा रहँदा दैनिक काममा समेत प्रभाव परिरहेको छ।
गाउँपालिका विभिन्न स्थानमा टेलिफोन टावर भए पनि गाउँपालिका केन्द्रमा कुनै पनि सञ्चार कम्पनीको टावरले काम नगरेका कारण अझै गाउँपालिका केन्द्र सञ्चार सम्पर्कबाट टाढा रहेको हो। गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको छ।
गाउँपालिका कार्यालयमा टेलिफोनले काम नगर्दा कुरा गर्न डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए। जनताका गुनासा र समस्या धेरैजसो फोनमै समाधान हुने भए पनि सञ्चार सुविधा नहुँदा सर्वसाधारणले गाउँपालिका नै धाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरलाग्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए। गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समसयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन।
सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए/नभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने वडा नं. ६ की स्थानीय अम्बिका मगरको गुनासो छ।
टावर निर्माणको कुरा अघि बढिसक्यो
गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुने गरी नेपाल टेलिकमले टावर निर्माण प्रक्रिया अघि बढाइसकेको जनाएको छ। विद्युत् प्रधिकरणसँग विद्युत जडानको लागि कुरा भइरहेको नेपाल टेलिकम ओखलढुंगाका सूचना अधिकार सन्तोष न्यौपानेले बताए।
विद्युत् प्रधिकरणले टेलिकमले राख्न लागेको टावरसम्म विद्युत् पुर्याउनका लागि लागत स्टमेट आफूहरूलाई पठाइसकेको र केही महिनामै टेलिफोनको पहुँचमा पुर्याइसक्ने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।