राप्रपा भन्छ : निर्णय भएको छैन, सहभागिता र समर्थन छ

|

काठमाडौं : गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भयो। यस अविधको सुरुवाती समयमा छिटफुट राजतन्त्रका नारा लागे पनि दोस्रो संविधानसभाको निर्वाचनपछि बनेको संविधान लागू भएपछि भने राजतन्त्रवादीहरु सडकमै खासै प्रदर्शनमा उत्रिएका थिएनन्।

तर पछिल्ला केही समय भने राजतन्त्रको नारा अलि बढी नै लाग्दै आएको छ। मानिसहरु नेपालको झण्डा बोकेर राजतन्त्रको समर्थनमा सडकमै उत्रिन थालिका छन्। २४० वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्था ढालेर २०६५ सालमा आएको गणतन्त्रविरुद्ध हाल सयाैँ मानिस राजतन्त्र फर्काउने भन्दै सडक प्रदर्शनमा उत्रिएका हुन्। गणतन्त्र स्थापनापछि पनि नागरिकको माग पूरा नभएको भन्दै उनीहरु आक्रोशित बन्दै गएका छन्।  कतिपयले त प्रमुख राजनीतिक दलले देशलाई भ्रष्टाचारको दलदलमा डुबाउन खोजेको भन्दै राजतन्त्रको पक्षमा देशभर अभियान चलाउन थालेका छन्।

जनआन्दोलन २०६२/६३ पछि २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो। तर‚ गणतन्त्र स्थापनाको ११ वर्षमै पुनः राजतन्त्रको माग गर्नेहरुको आवाज बुलन्द हुन थालेको छ। मंसिर २० गते काठमाडौंमा राजावादीहरुले बृहत् प्रदर्शन तयारी गरिरहेका छन्। यसमा थुप्रै सामाजिक संस्थाहरुको उपस्थिति रहने उनीहरुको दाबी छ। त्यसकै पूर्वतयारीका लागि काठमाडौंसहित यसअघि पोखरा, धनगढी, हेटौंडा, वीरगञ्ज र बुटवलसहित देशभर व्यापक प्रदर्शन भइसकेका छन्। 

राजतन्त्र पुनर्स्थापनाको माग गर्नेको प्रदर्शन बढ्दै गइरहेका बला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिले राजनीतिक व्यवस्था र सरकारविरुद्ध प्रतिक्रियावादीहरुले टाउको उठाउन खोजेको आरोप लगाएका छन्। ‘यस्ता विषयवस्तुले समाजमा भ्रम छर्ने काम भएको छ। स्थिरता‚ विकास र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको छ। पछिल्लो समय संवैधानिक प्रणाली, लोकतन्त्र र कानुनी शासनविरुद्ध जनता भड्काउने काम भएको छ’, उनले आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेका थिए, ‘प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता गतिविधिमा सहभागी नहुन अपिल गर्दछौं।’

मन्त्री गुरुङले ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालको बेइज्जत गर्ने गरी ल्याएको प्रतिवेदन र प्रतिवादीहरुको प्रदर्शनलाई केवल संयोग मान्न नसकिने पनि बताएका छन्। 

पछिल्ला केही दिनयता सरकारमा रहेका मात्र नभई बाहिर रहेका विभिन्न दलका हटेर गएको राजतन्त्र ब्यूँतिन नसक्ने ठोकुवा गर्दै आएका छन्। उनीहरुले गणतन्त्र शिशु अवस्थामै रहेकाले यसलाई फल्न र फुल्न दिनुपर्ने बताइरहेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिला भएकाले राजतन्त्रको गोबर नखान भन्दै सामाजिक सञ्जालबाट आग्रह समेत गरेका छन्। त्यस्तै‚ नेकपाका पर्यटन मन्त्री योगेश भट्टराईले राजतन्त्रलाई भूतको संज्ञा दिँदै यसले टाउको उठाउन खोजेको टिप्पणी गरेका छन्। त्यस्तै नेकपाका नेता गोकर्ण विष्टले समेत राजतन्त्र आउन नसक्ने र आउन नहुने तर्क गरेका छन्।

राजतन्त्रवादीहरुको बढ्दै गएको क्रियाकलापप्रति सत्तापक्षबाट लगातार अभिव्यक्ति आए पनि प्रमुख प्रतिपक्षी कांग्रेसलगायत पार्टीले यसबारे खासै टिप्पणी गर्न भ्याइसकेका छैनन्। 

निर्णय छैन तर सहभागिता छ : प्रवक्ता श्रेष्ठ

देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनको विषयमा पार्टीको औपचारिक निर्णय नभएको राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले बताए। 

‘राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनका लागि भएका प्रदर्शनमा हाम्रो नैतिक समर्थन त छ, हाम्रा विभिन्न तहका नेता कार्यकर्ताले पनि त्यसमा सहभागिता जनाइराख्नुभएको छ’, उनले भने, ‘तर, हाम्रो पार्टीले औपचारिक निर्णय गरिसकेको छैन।’ मुलुकले गणतन्त्र धान्न नसक्ने भएकाले कांग्रेसलाई होस् वा कम्युनिष्टलाई मतदान गरेको आम जनसमुदाय नै राजतन्त्रको पक्षमा रहेको उनको दाबी छ।

उनले फेरि थपे, ‘हामीले संस्थागत निर्णय गरिसकेका छैनौं। झापामा चाहिँ जिल्ला कार्यसमितिले निर्णय गरेर २० गते कार्यक्रम राखेको छ। तर, केन्द्रीय कार्यसमितिले कुनै निर्णय गरेको छैन।’

‘जनतालाई देखाइएका सपना अधुरै रहेका र स्वभाविक रुपमा जनता विकल्प खोज्न थालेका छन्’ उनले भने, ‘अबको विकल्प भनेको राजतन्त्रसहितको लोकतन्त्र नै हो। विकास भइहाल्ने होइन। अहिलेजस्तो देशमा ब्रह्मलुट हुँदैन। सुशासनको व्यवस्था कायम गराउँछ।’ 

‘पार्टीको झण्डा बोकेका हामीसँग छैनन्’

राजतन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएको कुनै पनि राजनीति दलको सहभागिता नभएको राजतन्त्र फर्काउ अभियानको नेतृत्व गरिरहेका सिनेत श्रेष्ठ बताउँछन्। 

‘हामीकहाँ कहिले कुनै पार्टीको झण्डा बोकेका छैनौँ। हामी देशको झण्डा बोकेर हिडेँका छौँ। राजनीतिक दलबाट जनताले भोगिसके अब त्यसैले हामीले राजतन्त्रको माग गरिरहेका छौँ‚’ उनले भने, ‘देशमा अस्थिरतामा गयो जनतालाई राजनीतिक दलको तर्फबाट पटक पटक धोका भयो। त्यसैले अहिले हामीसँग नेपालको झण्डा बोक्ने मात्र सहभागी छन्।’

देश विकासको कुनै बाटो नदेखेपछि जनताले राजतन्त्र खोज्न थालेको उनको तर्क छ। ‘देशका लागि राजतन्त्र आवश्यक छ। राजनीतिक दलको यही अवस्थाले चल्दै गएमा अवश्य पनि राजतन्त्र र हिन्दु राज्यको तर्फमा छ’ उनले भने, ‘जनता त्यसको पक्षमा उत्रिरहेको छ। अहिलेसम्म हामीसँग कुनै पार्टी औपचारिक रुपमा साथ दिन आउने भनेका छैन। तर, उहाँहरुको आस्था मिलेको हुनुपर्छ।’ 

देश विकासको लागि राजसंस्था आवश्यक 

देशको विकासका लागि राजसंस्था आवश्यक भएको राष्टिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देन बताउँछन्। ‘नेपालजस्तो भूराजनीतिक परिस्थिति भएको मुलुकका लागि संविधानको परिधिभित्र रहेको संसदको अधीनमा रहने राजसंस्था आवश्यकता छ‚’ उनले भने, ‘त्यसको कारणले यो प्रणालीले काम गर्न सक्दैन भनेर हामीले भनिरहेका थियौँ। त्यो अहिले सत्य सावित हुँदै आएको छ। अहिले पात्र र प्रणाली दुवै असफल हुँदै आयो। यही पात्र र प्रणालीमा गयौँ भने देश दुर्घटनामा जाने निश्चित छ।’

देशका ठुला पार्टी भन्नेहरुले सहमतिमा राजसंस्था, हिन्दु राष्ट स्थापनाको पक्षमा सहमत हुनुपर्ने उनको तर्क छ। उनले भने‚ ‘राजतन्त्र ल्याउनुपर्छ भन्ने राष्टिय प्रजातन्त्र पार्टीको मुख्य राजनीतिक एजेण्डा हो। २०६२/६३ राजनीतिक परिवर्तनपछि नै राप्रपा मुलुकमा राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र  संघीयताको विपक्षीमा रहेर क्रियाशील भइरहेका छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.