|

पोखरा : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको अहिलेको अवस्थाबाट पोखरा महानगरले पाठ सिक्नुपर्ने बताएका छन्।

आफ्नो स्वागतमा पोखरा महानगरले सोमबार गरेको कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। अनियन्त्रित बसाइँसराई काठमाडौं र पोखराको चुनौति भएको उनले बताए। 

स्थानीय तहबीचमा पनि समन्वय र अनुभव आदान प्रदान हुनुपर्नेमा शाक्यले जोड दिएका छन्। 'काठमाडौं अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले बसोबासलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकासमा जोड दिनुपर्छ', उनले भने, 'कोरोनाका कारण सिथिल बनेको पर्यटनलाई चलायमान बनाउनुपर्छ। काठमाडौं र पोखराबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता छ।'

कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौ र पोखरासहित देशभर पर्यटन चलायमान बनाउन प्रदेश र संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिएकी छन्। 

खड्गीले काठमाडौंले उदाहरणीय काम गरेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने व्याख्या गरिन्। 

त्यसैगरी पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्। जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघियतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताएका हुन्।

व्यवस्था परिर्वतन भएपनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौती आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उनले बताए। 

‘काठमाडौं र पोखराका आ-आफ्नै विशेषता छन्,’ जिसीले भने, ‘काठमाडौं सांस्कृतिक सहर हो भने पोखरा प्राकृतिक रुपमा सुन्दर छ। एक अर्काबाट धेरै सिक्न-सिकाउन सक्छौं।’ 

काठमाडौं-पोखरा सडक चार लेनको हुनुपर्ने बताउँदै जिसीले दुवै सहरले पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गरे। पोखराको भौगोलिक विशेषता अनुसार नै विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.