७९ राँगाको बलि चढाइयो
७९ राँगाको बलि चढाइयो
बैतडी : कोरोना कहरबीच बैतडीका दुई वटा प्रसिद्ध भगवती मन्दिरमा बलिसहित जात्रा आज सम्पन्न भएको छ।
मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर र सुर्नया गाउँपालिका रौलेश्वरस्थित फाल्ङासैनी भगवती मन्दिरमा बलिसहित जात्रा सम्पन्न भएको हो। यी दुवै शक्तिपीठहरुमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने गर्दछ।
स्थानीय प्रशासनले कोरोना भाइरस जोखिमका कारण मेला पर्वमा रोक लगाएको भए पनि स्थानीयले सांस्कृतिक परम्परा नछोड्ने भन्दै बलिसहित जात्रा मनाएका हुन्।
हरेक वर्ष बलिसहित जात्रा हुने भएकाले भाकल रहेको भन्दै जात्रा राँगा र बोकाको बलि स्थानीयले दिएका छन्। मेलौली भगवती मन्दिरमा ७१ राँगाको बलि दिइएको छ भने फाल्ङासैनी भगवती मन्दिरमा ८ राँगाको बलि चढाइएको छ।
नगरपालिकाले नित्य पूजाबाहेक अन्य भीडभाड नगर्न आग्रह गरेको थियो। तर जात्रामा बलि दिइएको मेलाैलीका मेयर कृष्णसिंह नायकले बताए। उनले भने, ‘हामीले मेला पर्वमा रोक लगाउन बजारसमेत बन्द गरेका थियौं। तर भाकल गरेकाले बलि गर्ने भनेपछि रोक्न सकिएन।’
बैतडीसहित सुदूरका पहाडी जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षमा विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा मेला लाग्ने गर्दछ। अरु वर्षको जस्तो मेलामा रौनक भने नभएको स्थानीयहरुले बताएका छन्।
मन्दिर तथा शक्तिपीठहरुमा लाग्ने मेलामा स्वदेशका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेकोका छन्। तर यो वर्ष कोरोनाका कारण बाहिरका दर्शनार्थी भने आउन पाएनन्।
जात्रा तथा मेलामा हुने भीडभाडले कोरोनाको जोखिम बढ्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।