इलाम : इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा पिकअप पल्टिँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा माई–९ वोरुङका विमल भनिने दिनेश लिम्बू र इलाम नगरपालिका–११ सोयाक निर्फुकका नवीन बुलुन छन्। उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो।
माई नगरपालिकाबाट सामान लिई गएको को २ च १५ नम्बरको पिकअप लुम्देबाट तरकारी बोकेर फर्कने क्रममा थुम्कीडाँडाबाट करिब ३ सय मिटर तल खसेको थियो। रात परेकाले दुवैको शवलाई भीरबाट निकाल्न नसकिएको घटनास्थलमा रहेका नेकपा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए।
खनालका अनुसार दुर्घटना भएको क्षेत्रमा सवारीसाधनको सुरक्षाका लागि करिब ५ फुटको बार लगाइएको भए पनि पिकअपले त्यसलाई नछोई भीरबाट तल खसेको छ। गम्भीर घाइते भएका माई–१ का विकास तामाङलाई उपचारका लागि इलाम ल्याइएको सवारीधनी सचिन राईले जानकारी दिए।
राईका अनुसार ब्रेकफेल भई अनियन्त्रित हुँदा सडकबाट पिकअप खसेको थियो। मृतकमध्ये एक जना गाडीभित्र चेपिएका छन् भने एक जना भीरमै अड्किएका छन्। घटनास्थलमा भर्खरै मात्र प्रहरी पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।