प्रहरी भन्छ : पार्टी कार्यालयमा बलियो सुरक्षा छ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केन्द्री कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेको छ।

पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह अनुसार महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक मंगलबार दिउँसो १ बजेका लागि बालुवाटारमा डाकिएको जानकारी अन्य सदस्यहरुलाई दिएका छन्। 

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँचजना सचिवालय सदस्यहरु धुम्बाराहीमै बैठक बस्‍नु पर्ने अडानमा रहे पनि प्रधानमन्त्री ओलीले नमानेपछि बालुवाटारमै बैठक बस्‍न लागेको हो।

पछिल्लो केही दिनयता राजावादी र हिन्दुवादी संगठनका सदस्यहरुले देशका अन्य स्थानसहित काठमाडौंमा समेत आफ्ना गतिविधि तीव्र पारिरहेका बेलामा सुरक्षा चुनौती भएको भन्दै धुम्बाराहीबाट बैठक बालुवाटारमा सारिएको हो। 

ओलीले महासचिव पौडेलमार्फत धुम्बाराहीमा बैठक बस्‍नै नसक्ने बताएपछि सबै नेताहरु बालुवाटार आउन लागेका हुन्। तर प्रचण्डले बैठक धुम्बाराहीमै राख्‍नुपर्ने बताएका थिए। 

उक्त बैठक सुरक्षााका दृष्टिले बालुवाटारमै राख्‍दा उचित हुने सुझाव सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पनि दिएको बताइएको छ। तर यसबारेमा नेकपा सचिवालयका नेताहरुले केही धारणा व्यक्त गर्न चाहेनन्। 

यता नेपाल प्रहरीका एक उच्च अधिकारीले काठमाडौंमै त्यस्तो कुनै सुरक्षा चुनौती नरहेको बताएका छन्। ती उच्च अधिकारीले केही समूहले सडकमा प्रदर्शन गरे पनि त्यसकै आधारमा नेताहरुमै थ्रेट भएको मान्‍न नसकिने तर्क गरे।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशील यादवले पनि उपत्यकाको सुरक्षा व्यवस्था मजबुत रहेको जानकारी दिए। 'सत्तारुढ नेकपाको बैठक स्थान के कारणले सर्‍यो हामीलाई जानकारी भएन', उनले भने, 'हाम्रो बुझाइमा काठमाडौंमा सुरक्षाको कुनै पनि थ्रेट वा अन्य जोखिम अहिले देखिएको छैन। हामीलाई त्यस्तो कुनै किसिमको सूचना पनि आएको छैन।'

यादवले नेकपा केन्द्रीय कार्यालयसहित अन्य दलका कार्यालयमा पनि प्रहरीको उपस्थिति नियमित भइरहेको जानकारी दिए। 'सत्तारुढसहित दलहरुका कार्यालयमा हाम्रो नियमित निगरानी भइरहेको छ', उनले भने, 'सडकमा केही समूहले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा संलग्‍नहरुमाथि पनि हाम्रो नियमित निगरानी छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.