'पाइप बिछ्याएर पानी दिने बेलामा फेरि सर्भे गर्न थालियो'

|

काठमाडौं : काठमाडौं उपत्यकाका जनताले मेलम्चीको खानेपानी आश गरेको दुई दशक भयो। पानी आउला र प्रशस्त पानीको उपयोग गरौंला भन्ने आशमा उपत्यकाका वासिन्दा छन्।  मेलम्चीको पानीको आश मारिसकेका उनीहरु  टुक्रे आयोजनाले पानी देला र प्रयोग गरौला भन्नेलाई  निराश बनाएका छन्। 

प्रधानमन्त्रीको निवास बालकोटमा पनि यस्तै एउटा खानेपानी आयोजना पनि अलपत्र बनेको छ। भक्तपुरको बालकोटका बासिन्दा खानेपानीको आश गर्दै छन्।​ 

गत असार मसान्तमा बजेट फिर्ता जाने डरले ५० लाख रुपैयाँको खानेपानी पाइप रातारात जडान गरिएको थियो। तर अहिले त्यो काम नलाग्ने भन्दै   संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना आफैँले पाइप हटाएर नयाँ पाइप राख्न नापजाँच गरेपछि स्थानीय उपभोक्ता झन आश्चर्यमा परेका छन्।  

यो भक्तपुरको बालकोट खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको घटना हो। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा र यस समितिबीच २०७६ फागुन २६ गते सम्झौता भएको थियो। सम्झौता पत्रअनुसार काम २०७७ असार २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने थियो।

तर, अहिलेसम्म पनि काम सम्पन्न हुन सकेको छैन। घरमा पाइप राखिए पनि उपभोक्ताले भने पानी उपयोग गर्न पाएका छैनन्। केही स्थानीयको घरमा त पाइप नै पुगेको छैन। पानी दिने बेलामा फेरि सर्भे गरेर अनियमितता हुन लागेको उपभोक्ताको आशंका छ।

सडकपेटीमा खाल्डा खनी पाइप बिछ्याइए पनि ती खाल्डा अझै पुरिएको छैन। सडक पेटीमा हालिएकमा ब्लक छरपस्ट छन्। आयोजनामा आर्थिक अनियमिता भएकाले समयमा काम सम्पन्न हुन नसकेको स्थानीयको आरोप छ।

स्थानीय वास्तुटोल सुधार समितिका राजेन्द्र रेग्मी भन्छन्, ‘८७ लाखको आयोजना हो। ५० लाख जतिको मात्रै काम भयो। अरु पैसा के भयो? कहाँ खर्च भयो? अहिलेसम्म जानकारी छैन।’ खानेपानी आयोजनाको विषयमा उपभोक्ता समिति र संघीय खानेपानीमा गुनासो गर्दा बाँकी पैसा कोरोनामा खर्च भइसकेको जानकारी पाएको उनले बताए।

‘मनपरितन्त्रले न आयोजना सकियो न स्थानीयलाई जानकारी नै भयो,’ उनले भने, ‘पहिलाको आयोजना नसकी अहिले नयाँ योजनाको सर्वे भइरहेको छ। एक योजना अपूरो राखी अर्को ल्याउने यस्तो विकास कहाँबाट आयो ? योजनामा भएको यस्ता अनियमितताले हामी जारको पानी किनेर खान बाध्य छौँ।’

उनका अनुसार जेठबाट काम सुरु भएको थियो। ३८ वटा चेम्बरमा करिब चार वटा टोलबासीलाई चेम्बर बन्यो। अझै १० वटा चेम्बर र ४ सय मिटर पाइप चाहिएको छ। समयमा काम सम्पन्न नहुँदा करिब दुई सय परिवार पानीबाट बञ्चित भएका उनले जानकारी दिए। 

‘उपभोक्ता समितिले यतिका वर्षसम्म साधारणसभा गरेको पनि छैन। कहाँबाट के कति बजेट आयो भन्ने केही जानकारी स्थानीयलाई हुँदैन। प्रधानमन्त्री केपी शर्मा ओलीको आवास क्षेत्रमै यस्तो बेथिति हुन्छ भने अन्य ठाउँको त कुरा नै नगरौँ,’ उनले थपे।

अर्का एक स्थानीयका अनुसार बनाएका चेम्बरहरू पनि उपभोक्ताले  पैसा  दिएका छन्। ​२०७० असार साउनमा खानेपानी जडानका लागि १५ हजार पाँच सय ?रुपैयाँ तिरेका उपभोक्ताका घरमा समेत धारा जडान गरिएकाे छैन। 

‘समयमा बजेट नआउँदा काम अपूरो भयो’

बालकोट खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका सचिव हरिशरण अधिरकारीले संघीय खानेपानीबाट समयमा बजेट विनियोजन नभएकाले आयोजना सम्पन्न हुन नसकेको तर्क गरे।

‘संघीय खानेपानीले समयमा बजेट निकासा नगर्दा काममा ढिलाइ भयो,’ उनले भने, ‘सडक बिस्तारले पहिलाको योजनाका पाइपहरू धेरै जमिनमुनि गाडिए। त्यसैले फेरि नयाँ योजना आएको छ। त्यहीअनुसार अहिले पाइप बिछ्याउने काम भइरहेको छ।’ 

खानेपानी आयोजनामा एक पैसा पनि अनियमिता नभएको उनले दाबी गरे। भने, ‘हाम्रो खातामा योजनाको एक पैसा पनि आएको छैन। समयमा काम सम्पन्न नभएकाले संघीय खानेपानीमै पैसा फ्रिज भएर फर्कियो।’ तर पुरानो रद्द गरेर किन नयाँ सर्वे गरिँदैछ उनले बताउन सकेनन् । 

यस विषयमा थप जानकारी लिन हामीले भक्तपुर खानेपानी डिभिजनका कार्यकारी निर्देशक मनिना वैद्यसँग कुरा गर्न खोजे केही उत्तर आएन। भनिन्, ‘फोनमा कुरा गरेर हुँदैन। अफिस आउनुस्। त्यहीँ कुरा गरौँला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.