प्रवक्ता भन्छन् : प्रस्तावमा छलफल सुरु भएको छ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा दुईजना अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच चर्काचर्की भएको छ।

दुवै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल अघि बढाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकको सुरुमै प्रधानमन्त्री समेत रहेका ओली र कार्यकारी अध्यक्ष दाहालबीच भनाभन भएको हो।

स्रोतका अनुसार बैठकमा ओलीले प्रस्तावमा छलफल हुन नसक्ने मत राखेका थिए। उनले पार्टी विभाजनको रेखा कोर्न सक्ने भन्दै आफ्नो र दाहालको दुवै प्रस्तावमा छलफल गरेर अघि बढ्न नसकिने भनेपछि कार्यकारी अध्यक्ष दाहाल आक्रोशित भएका थिए।

कार्यकारी अध्यक्ष दाहालले ओलीको कार्यशैलीमाथि अनेक प्रश्‍नसहित १९ पृष्ठको प्रस्ताव सचिवालय हुँदै तल्लो तहका कमिटीसम्म पठाएपछि ओलीले ३८ पृष्ठ लामो ४५ बुँदै जवाफी प्रस्ताव पेश गरेका थिए। यसैलाई लिएर दुईजना अध्यक्षबीच बालुवाटारमा घम्साघम्सी भएको हो।

दुवै अध्यक्ष पार्टीको नीति, सिद्धान्त र विचार भन्दा शक्तिको स्वार्थका लागि भिडिरहेपछि नेकपामा गम्भीर संकट निम्तिएको छ। यस्तोमा दुईजनाबीचको विवादले मंगलबार पनि थामिने मेलो देखाएन। 

आजको बैठकको सुरुमै प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने मत राख्दै ओलीले त्यसपछि छलफल अघि बढ्न सक्ने उल्लेख गरेका थिए। ओलीले बोल्ने क्रममा दुवै प्रस्तावमा छलफल आवश्यक नभएको बताएपछि प्रचण्ड आक्रोशित भएका थिए।

बैठकका सहभागी एकजना सचिवालय सदस्यले दिएको जानकारी अनुसार ओलीले आफूमाथि प्रहार गर्दै बोलेपछि प्रचण्डले आक्रोशित मुद्रामा जवाफ फर्काएका थिए। ओलीले बैठक छल्न खोजेको आरोप लगाउँदै प्रचण्डले कोही पनि त्यहाँबाट भागेर जान नसक्ने मत राखेका थिए। दाहलले बैठकले गर्ने निर्णय नै सबैका लागि स्वीकार्य हुने बताउँदै यहीँबाट निकास खोज्‍नुको विकल्प नरहेको उल्लेख गरेका थिए। 

नौ सचिवालय सदस्यमध्ये प्रचण्डसहित पाँचजना कुनै पनि हालतमा बैठक बसेरै निकासतर्फ जानुपर्ने अडानमा छन्। उनीहरुले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेर समस्याको समाधान गर्न सकिने मत राखेका छन्।

स्रोतका अनुसार मंगलबारको बैठकमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पनि बैठकबाट छलफल गरेर निकास निकाल्न दुई अध्यक्षलाई आग्रह गरेका थिए। आजको बैठककमा महासचिव विष्णुप्रसाद पौडेलले भने ‌ओलीको भनाइको प्रतिरक्षा गरेका थिए। 

'अन्य सदस्यहरुले बैठकबाटै निकास निकाल्नुपर्ने मत राखेका थिए', ती सचिवालय सदस्यले भने, 'तर महासचिवजीले भने प्रधानमन्त्री ओलीको बचाउ गर्नुभयो।'

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताए । उनका अनुसार बैठकमा प्रचण्ड र ओलीले आफ्नो धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिवद्धता जनाएका थिए । 

आजको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘दुई प्रस्तावमा छलफल सुरु भएको छैन। आजबाट सुरु भएको छ’ उनले भने, ‘उहाँहरुको प्रस्तावमाथि छलफल गर्नका लागि भोलि फेरि १ बजे बैठक बस्छ।’

आजको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो धारणा राखेको उनले बताए। ‘आजको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो धारणा राख्नुभयो। अन्य नेताहरुले पनि सामान्य धारणा राख्नुभएको छ’ उनले भने। 

पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने सबैको एकमत रहेको उनले बताए। ‘विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवै छलफललाई तीव्रता दिनेछ’, उनले भने, ‘पार्टीमा देखिएको संकट समाधान र पार्टी एकताको रक्षाको गर्नतर्फ बैठक केन्द्रित रह्‍यो।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.