|

बैतडी : पाटन नगरपालिका–५ बगाउँ र पञ्चेश्वर गाउँपालिका–५ धीरमडामा एक घर एक धारा निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। बगाउँका ४४ घरधुरी र एक विद्यालयमा खानेपानीको पहुँच पुगेको छ भने धीरमडामा ४७ घरधुरीमा खानेपानी पुगेको हो।

गाउँमा खानेपानी पुगेपछि आफूहरु निकै हर्षित भएका बगाउँकी पार्वती चन्दले बताइन्। ‘यसअघि निकै टाढाबाट पानीको जाहो गर्नुपर्थ्यो,’ उनले भने, ‘हाल खानेपानीका लागि टाढा टाढा जानुपर्ने बाध्यता हटेपछि सजिलो भएको छ।’

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका बगाउँमा खानेपानीको पहुँच पुगेको वडा सदस्य नरेन्द्रबहादुर चन्दले बताए। ३७ लाख ९२ हजार रुपैयाँ लागतमा गाउँमा खानेपानी पुगेको ककरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दलबहादुर चन्दले जानकारी दिए। पाटन नगरपालिकाको २५ प्रतिशत, स्थानीय उपभोक्ताको २६ प्रतिशत र बाँकी ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लागतमा खानेपानी योजना सम्पन्न भएको उनले बताए।

यस्तै, पञ्चेश्वर–५ धीरमडामा पनि एक घर एक धारा निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका धिरमडाबासी गाउँमा खानेपानी पुगेपछि खुसी भएका नागार्जुन सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष हर्कबहादुर चन्दले बताए। एक करोड २४ लाख पाँच हजार रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको नागार्जुन सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजनाले जनाएको छ।

पञ्चेश्वर गाउँपालिकाको २५ प्रतिशत, उपभोक्ताहरुको २६ प्रतिशत र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ४९ प्रतिशतको लागतमा खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका जलश्रोत अधिकृत पदमबहादुर चन्दले जानकारी दिए। उक्त योजनाबाट ४७ घरधुरीका करिब ४०० नागरिक लाभान्वित भएको उनले बताए।

योजना अन्तर्गत १६ हजार लिटर क्षमताका २ र ८ हजार लिटर क्षमताको एउटा ट्यांकी निर्माण गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.