|

म्याग्दी : बेनी नगरपालिका–४ बास्कुना गाउँका किसानले ४० लाख रुपैयाँको सुन्तला बिक्री गरेर छन्।

सुन्तला गाउँको रुपमा परिचित बास्कुनाका २५ घर किसानले धान फल्ने खेत र कोदो फल्ने बारीमा व्यावसायिक सुन्तला खेती गर्दै आएका छन्। विगतका वर्षहरुमा ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका यहाँका किसानहरुले यस वर्ष रोग, किराको प्रकोप र अत्यधिक वर्षाका कारण सुन्तला उत्पादनमा कमी आएको बताए।

यहाँका प्रत्येक घरले कम्तीमा वार्षिक तीनदेखि सात लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्दछन्। बास्कुना, थामडाँडा र सुर्केमेला गरेर ७० घरधुरीले २० हजार सुन्तलाका विरुवा लगाएका छन्। तीमध्ये करिब १० हजार बोटबाट उत्पादन हुँदै आएको किसानहरु बताउँछन्।

उत्पादन भएका सुन्तलाको बजारीकरण, किसानलाई तालिम, मल र बीउको व्यवस्थापनका लागि कृषकहरुले बास्कुना कृषि सहकारी स्थापना गरेका छन्। सहकारी मार्फत सुन्तला बिक्री गर्ने गर्दछन्। 

सुन्तला खरिद गर्न व्यवसायीहरु गाउँमै आउँछन्। बोटबाटै सुन्तला बिक्री हुने कृषि सहकारीका अध्यक्ष तिलक गुरुङले बताए। यस वर्ष भने सुन्तलाको फलमा रोग लागेकाले गतवर्ष जस्तो आम्दानी नभएको उनको भनाइ छ।

‘सुन्तलामा औसिया कीरा लागेर झर्ने समस्या छ,’ गुरुङले भने, ‘गतवर्षको जस्तो आम्दानी यस वर्ष भएन्। सहकारीले यस वर्ष ए ग्रेडको सुन्तलाको मूल्य प्रतिकिलो ६५ रुपियाँ निर्धारण गरेको छ।’ गुरुङले १९ रोपनी जग्गामा ७०० बोट सुन्तला लगाएका छन्। ३५० बोट फल दिने गरेको उनले बताए। 

न्यूजिल्यान्डमा रहेका लालबहादुर केसीले अन्तर्राष्ट्रिय स्तरको बगँैचा व्यवस्थापन गरेका छन्। यसैगरी तिलक गुरुङ, मनिषा गुरुङ, टेकबहादुर खत्री, तिलक खत्री जसबहादुर थापाले उच्चस्तरको आधुनिक प्रविधियुक्त सुन्तला बगैँचा बनाएका छन्। सुन्तालाका दाना टिप्ने, गोडमेल गर्ने, औषधि उपचार गर्ने लगायतका कामहरु प्रविधिको सहयोगले गर्ने गर्दछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.