|

काठमाडौं : चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ। 

उसको रोबोटिक चाङ्ग–इ फाइभ अभियान अन्तर्गत गएराति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो।  अधिकारीहरुका अनुसार यो यानले चन्द्रमाबाट चट्टान तथा धुलोको करिब २ केजी नमुना पृथ्वीमा पठाउनेछ। चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गरी सामग्रीहरू सङ्कलन गरेर बिताउन बीबीसीले जनाएको छ। 

ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा राडार जस्ता यन्त्र जडान गरिएको छ। यो यान भनिएजस्तै गरी फर्कन सफल भएमा सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान हुनेछ। 

यसअघि यस्तो सफलता ४४ वर्षअगाडि प्राप्त भएको थियो जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वीमा ल्याएको थियो। यो यान यसै महिनाको अन्त्यतिर भित्री मङ्गोलिया क्षेत्रको घाँसे मैदानमा उत्रनेछ। अमेरिकी अन्तरिक्ष निकाय नासाले चीनलाई बधाइ दिएको छ। 

नासाका वरिष्ठ अधिकारीले पृथ्वी ल्याइएका चन्द्रमाका सामग्रीको वैज्ञानिक विश्लेषण गर्ने अवसर अन्तर्राष्ट्रिय समुदायलाई पनि मिल्ले आशा व्यक्त गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.