मंगलबारको बैठकमा प्रचण्डसँग परेको थियो चर्काचर्की

|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा केही समय ढिलो गरी बस्ने भएको छ। मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की परेको थियो। 

अध्यक्ष दाहालले बुधबार १ बजेका लागि बैठकको बस्ने बताइरहे पनि प्रधानमन्त्री ओलीले सहमति जनाएका थिएनन्। तर, प्रधानमन्त्री ओली सचिवालयको बैठकमा सहभागी नहुने भन्नेबारेमा कुनै जानकारी नभएको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले बताए। 

'बालुवाटारमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली नजाने भन्नेबारेमा मलाई जानकारी छैन। उहाँ बैठकमा जानुहुन्छ' उनले थाहाखबरसँग भने। 

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने कि अलग-अलग लाने भन्ने विषयमा नेताहरूबीच विवाद भएको हो। प्रधानमन्त्री ओली साझा प्रस्ताव बनाएर जानुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड अलग-अलग प्रस्ताव तल्ला कमिटीमा पेश गर्नुपर्ने अडानमा छन्। 

आजको बैठकमा ओली उपस्थित नभए बहुमतका आधारमा दुवै प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गर्ने प्रचण्ड पक्षको तयारी छ। कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले एक अर्कालाई आरोप लगाउँदै प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो। 

नेकपाले स्थायी कमिटीको बैठक भोलि र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गतेलाई बोलाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.