|

बैतडी : बैतडीमा हालसम्म १ सय  ८५ जनामा एचआइभी संक्रमण  पुष्टि भएको छ। चालु आर्थिक वर्षमा एक जनामा पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘चालु आर्थिक वर्षमा जिल्लाका १ सय ११ जनाको परीक्षण गर्‍यौँ, एक जनामा पनि संक्रमण देखिएको छैन।’

यस्तै, गत आर्थिक वर्ष ०७६/७७ मा ५ जनामा संक्रमण देखिएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा २ जनामा एचआइभी देखिएको प्रमुख भट्टको भनाइ छ। गर्भवती, सुत्केरी र जोखिम बिरामीको पनि एचआइभी परीक्षण गर्ने गरेकोमा पछिल्लो समय कोरोना कहरका कारणले उनीहरूको परीक्षण नगरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। बैतडीमा १ सय ८५ जनामा एचआइभी संक्रमण  हुँदा तीमध्ये २६ जनाको मृत्यु भइसकेको छ।

संक्रमितमध्ये हाल १ सय ११ जनाले एआरटी सेवा लिइरहेका स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए। 

जिल्लाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, पाटन प्राथमिक स्वास्थ केन्द्र र जिल्ला अस्पतालबाट एआरटी सेवा प्रदान गरिने गरेको छ। एआरटी सेवा नि:शुल्क हुने गर्दछ। संक्रमितमध्ये एआरटी सेवा दिनेमा बढीजसो पुरुष रहेका बताइएको छ। महिलाहरू पनि  संक्रमित भए पनि खुल्न नचाहने गरेको  प्रमुख भट्टको भनाइ छ।

उनले भने, ‘अस्पतालमा उपचारका लागि गएका बेला अरूले देखेर चिन्ने त्रासमा एचआइभी सङ्क्रमित उपचार गर्न आउन डराउँछन्,’ उनले भने, ‘अहिले पनि सङ्क्रमित रोग लुकाएर बस्न बाध्य छन्।’

एचआईभी खास गरेर असुरक्षित शारीरिक सम्पर्कबाट सर्ने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए।   यस्तै असुरक्षित  सुई  आदान–प्रदान,  सङ्क्रमित आमाबाट जन्मिएका बच्चामा पनि एचआइभी सङ्क्रमण हुने सम्भावना रहने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.