|

बैतडी : समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै बैतडीका दुई स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ। सदरमुकामस्थित  दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो।

समुदायस्तरमै कोरोना संक्रमण बढ्दै गएको भन्दै  लकडाउन घोषणा गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन्। दशरथचन्द नगरपालिकालाई मंसिर २२ गतेसम्म र डिलाशैनी गाउँपालिकामा मंसिर २६ सम्मको लागि लकडाउन घोषणा गरिएको हो।

कोरोना संक्रमित दिनप्रतिदिन बढिरहेको भन्दै आवतजावत तथा भिडभाडले  संक्रमण फैलने भन्दै लकडाउन गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन्। उनले भनिन्, ‘संक्रमण फैलन नदिन लकडाउन गरेका छौं, सबैलाई पालना गर्न अनुरोध छ।’

डिलाशैनीका  ६ जनामा एकैदिन कोरोना संक्रमण देखा परेपछि लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले बताए। उनले भने, ‘कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन गरेका हौं।’

लकडाउनको अवधिभर  दुवै स्थानीय तहका कार्यालय तथा वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका जनाएका छन्। यस्तै, छोटो तथा लामोदूरीका सवारीसाधन सञ्चालनमा रोक, विद्यालय बन्द गरिनुका साथै भिडभाड हुने किसिमका सम्पूर्ण क्रियाकलापमा रोक लगाइएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गरिरहेका छन्। लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ।

लकडाउन गरिएको दशरथचन्द नगरपालिकामा हालसम्म १२६ जनामा संक्रमण पुष्टि हुँदा ४६ जना सक्रिय संक्रमित रहेका छन्। नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालाई समेत शनिबार कोरोना पुष्टि भएको थियो। यस्तै, डिलाशैनीमा हालसम्म २८ जनामा संक्रमण पुष्टि हुँदा १६ जना सक्रिय अवस्थामा रहेका छन्।

समुदायमै पुग्यो कोरोना

बैतडीमा समुदायस्तरमै कोरोना फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्। पछिल्लो समयमा कोरोना भाइरस समुदायमा पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘जिल्लामा संक्रमितहरूको संख्या बढ्दै गएको र यसबाट समुदायका मानिसहरु प्रभावित हुन थालेका छन्,पछिल्लो समयमा संक्रमण पुष्टि भएका नागरिक ट्राभल हिस्ट्री नभएका स्थानीय रहेका छन्।’

समुदायमा कोरोनाको संक्रमण फैलिएकाले यसबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने, बेला-बेला साबुनपानीले हात धुनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने र मास्कको प्रयोग गर्नुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। उनले भने, ‘समुदायमा कोरोनाको संक्रमण थप फैलिन नदिन सचेत हुनुपर्नेछ, जाडोको मौसममा कोरोनाको संक्रमण बढी हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह छ।’

बैतडी जिल्लाभर हालसम्म ५६८ जनामा कोरोना पुष्टि भएकोमा १ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। जिल्लाभर हाल  ६८ जना सक्रिय संक्रमित रहेकोमा ४९९ जनाले कोरोना जितिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.