|

स्याङ्जा : कोरोना भाइरस महामारीको कारण घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण यतिबेला प्राकृतिक गन्तव्य खोज्न थालेका छन्। नौ महिनादेखि त्रासमा बसेका सर्वसाधारण परिवारसहित नजिकैको पर्यटकीय क्षेत्र घुम्ने र रमाउनेको संख्या ह्वात्तै बढ्न थालेको छ। 

वालिङ नगरपालिका–११ मा पर्ने बाहुनथान यति बेला पारिवारिक घुमघामका लागि राम्रो गन्तब्य बनेको छ। सिद्धार्थ राजमार्गबाट नजिकै पर्ने र वालिङ पिङ्क सिटीको मनोरन दृश्य देखिने भएकाले बाहुनथान अन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो।

बाहुनथान ऐतिहासिक ठाउँ पनि हो। तत्कालीन बाइसे चौबीसे राज्यको गह्रौँकोट राज्यका बाघखोरे राजा हिक्मतबहादुर खाँणले यस राज्यमा शासन गर्दथे। यस क्षेत्रमा खाँण परिवारले पूजाआजा गर्ने खाँणदेवीको मन्दिर पनि थियो। त्यस मन्दिरमा गैरब्राह्मण पूजारी थिए। ब्राह्मणलाई बाहुन भनिने प्रचलन छ। बाहुनले पूजा गर्ने क्षेत्र भएको कारण यस ठाउँको नाम बाहुनथान रहन गएको किंवदन्ती छ। राजा हिक्मतबहादुर खाँणको अल्पायुमै मृत्यु भएपछि बाघखोरे रानीले यो जग्गा गौचरनका निम्ति छाडेको विश्वास छ। 

रुपन्देहीबाट घुम्न आएका राजु तिवारीले राजमार्गबाट नजिक रहेको यस ठाउँबाट हिमश्रृङ्खला र वालिङ पिङ्क सिटी एकैसाथ देख्दा आनन्द लागेको बताए। ऐतिहासिक महत्त्व समेत बोकेको यस क्षेत्रबाट देखिने हिमश्रृङ्खलाको दृश्य, प्याराग्लाइडिङ, नागबेली आँधीखोला र वालिङ बजार निकै मनमोहक देखिने कारण यहाँ बिदाको दिन अझै भिडभाड हुने गर्दछ। बाहुनथानमा रहेको एउटा मात्रै स्वामीको रुखले पर्यटकलाई लोभ्याउने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.