|

भद्रपुर (झापा) : धन होइन, सहयोग गर्ने मन हुनुपर्छ। यस्तै, उदाहरणका पात्र बनेका छन् भद्रपुरका एक नवदम्पती। 

गत मंगलबार विवाह बन्धनमा बाँधिएका भद्रपुर नगरपालिका–६ का मदनकुमार पोखरेल र कचनकवल गाउँपालिका–६ की सुस्मिता दाहालले धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग र वृद्धवृद्धालाई जाडोको न्यानो कपडा वितरण गरी वैवाहिक जीवनको सुरुवात गरेका छन्।

बाग्मती सरसफाइ अभियानका अभियन्ता समेत रहेका पोखरेलले विवाहको दोस्रो दिन आफ्नै घरमा कार्यक्रमको आयोजना गरी फाउन्डेसनलाई एक लाख रुपैयाँ र नगर क्षेत्रका वृद्धवृद्धालाई जाडोको न्यानो कपडा र नगद रकम वितरण गरेका हुन्। नवदम्पतीले प्रदेश सांसद वसन्त बानियाँलाई फाउन्डेसनलाई प्रदान गरिएको एक लाखको चेक हस्तान्तरण गरेका हुन्। सांसद बानियाँले रकम फाउन्डेसनको खातामा पठाइदिने बताइएको छ।

साथै, नवदम्पत्तीले भद्रपुरका १०२ वर्षीय वृद्धा सुभद्रा कार्कीसहित एक दर्जन वृद्धवृद्धालाई जाडोमा लगाउने टोपी, ओड्नेसहित नगद रकम वितरण गरेका थिए। 

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५ मा गौतम बुद्ध नमुना क्रिकेट रङ्गशाला निर्माण गरिरहेकाले वैवाहिक जीवनको विशेष अवसरमा सो रकम प्रदान गरिएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.