गाँजाको पक्षमा राष्ट्रसंघमा बहुमत सदस्य

|

काठमाडौं : नेपालमा गाँजा खेतीका लागि कानुनी बाटो खुलेको छ। संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा सदस्यका रुपमा नेपालले पनि गाँजा खेती खुलाउने पक्षमा मतदान गरेको हो।

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङका अनुसार नेपाल सरकारको निर्णयानुसार जेनेभामा रहेका राजदूत प्रकाशकुमार सुवेदीले गाँजा खेती खुलाउने पक्षमा मतदान गरेका हुन्। तामाङले गाँजा खेती खुलाउनुका लागि संसदमा विधेयक अघि बढाउन केही वर्षदेखि पहल गर्दै आएका छन्।

'कानुनी मान्यताका लागि हामीले जुन बहस सञ्चालन गर्दै संसदमा गाँजा खेतीको कानुनी मान्यताका लागि गैरसरकारी विधेयक नै दर्ता गरेका छौँ। अब यसका लागि बाटो खुल्ला भएको छ', उनले भनेका छन्, 'हरेक नेपालीलाई र सिंगै राष्ट्रलाई धनी बनाउन सक्ने गाँजालाई अब कानुन बनाएर हामी खुल्ला गर्नेछौं।'

तामाङका अनुसार गाँजाबारे अन्तर्राष्ट्रिय रूपमै बहस भइरहेका बेला विश्‍व स्वास्थ्य संगठनले ३ वर्ष अगाडि नै संयुक्त राष्ट्रसंघलाई यसलाई लागुऔषधको सूचीबाट हटाई यसलाई औषधीय गुण भएको वनस्पतिको सूचीमा राख्‍न पत्र लेखेको थियो। उक्त प्रक्रियालाई संयुक्त राष्ट्रसंघले आफ्नो सदस्य राष्ट्रहरूको बीचमा छलफलमा पठाएको तामाङले बताए।

'हामीले नेपालमा व्यापक छलफल बहसपछि नेपालले पक्षमा मतदान गर्ने निष्कर्षमा पुग्यौं', उनले भनेका छन्, 'संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयका ५३ सदस्यमध्ये नेपाल पनि भोट हाल्न पाउने सदस्यका रूपमा छ।'

 जेनेभामा नेपाललगायत २७ मुलुकले लागु पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गाँजा प्रतिबन्धलाई खुकुलो बनाउने प्रस्तावको पक्षमा मतदान गरेका तामाङले खुलाएका छन्। 'राष्ट्रसंघबाट उक्त प्रस्ताव बहुमतले पारित भएको। नेपाल सरकार र यो अभियानमा लाग्ने सबै महानुभावहरू, समर्थन गर्ने जनसमुदाय र प्रचार गर्ने पत्रकार र मिडियालाई लाखौँलाख धन्यवाद', उनले भनेका छन्, 'अब हाम्रो अभियान संसदमा दर्ता भएको कानुनलाई पास गराउन सबै पक्षलाई आह्वान गर्दछु।'

 उनका अनुसार सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तर्राष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णायक बोर्डमा नेपालले पहिलो पटक मतदान अधिकार प्रयोग गर्दै औषधिजन्य गाँजाको पक्ष मा मत खसाएको हो।

'विश्वव्यापीरूपमा मान्यता पाइरहेको बहुउपयोगी गाँजा र यसबाट बन्ने औषधिको लागि आवश्यक कच्चा पदार्थदेखि कपडा र खाद्यवस्तुसमेत निर्यात गर्ने बाटो खुल्ला गर्न तत्काल गाँजा प्रतिबन्ध फुकुवा गर्दै नियमन प्रणालीमा जान सक्नु आजको जटिल परिस्थितिको माग हो', उनले भनेका छन्। अब गाँजालाई वैधानिकता दिने जिम्मेवारी नेपाल सरकारको काँधमा आएको पनि उनले बताएका छन्।

 'संयुक्त राष्ट्रसंघले नै अब गाँजा औषधीय गुण भएको वनस्पति र यसबाट मानव जीवनलाई हानि हुँदैन भनिसकेपछि अब यसको प्रतिबन्ध फुकाउन हामीलाई अवसर प्राप्त छ', उनले थपे, 'यो अवसरको उपयोग गर्दै अब छिटोभन्दा छिटो कानुन पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गरौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.