|

काठमाडौं : तनहुँको व्यासस्थित बुल्दी खोला पक्की पुल उद्घाटन कार्यक्रममा प्रमुख प्रतिपक्षी कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। छिमेकी जिल्ला चितवनबाटसमेत नेता कार्यकर्ता आएर पुल उद्घाटनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साथ दिएका हुन्। 

पुल उद्घाटनपछि भएको सभामा कांग्रेस नेताहरुले सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन्। उनीहरुले तनहुँका प्रमुख जिल्ला अधिकारीको मात्रै योजनामा नेता पौडेललाई रोक्ने कोसिस नगरेको भन्दै यसको दोष संघीय सरकारमाथि नै लगाएका हुन्। 

सभामा बोल्ने क्रममा वरिष्ठ नेता पौडेललाई अघिल्लो निर्वाचनमा हराएका नेकपा सांसद किसान श्रेष्ठमाथि वक्ताहरु खन्‍निए। सभामा बोल्दै कांग्रेस नेता प्रदीप पौडेलले नेकपा सांसद किसानसिंह श्रेष्ठको सम्पत्ति जाँच्‍नुपर्ने माग राखे।

रामचन्द्रलाई तनहुँमा रोक्ने काममा सांसद श्रेष्ठसहितका नेकपाका नेताहरु लागेको पौडेलले आरोप लगाए। 'किसान श्रेष्ठको सम्पत्ति खोजौं। किसान श्रेष्ठ अहिलेसम्म देश र जनताका लागि एक दिन पनि हिरासत र जेलमा गएका छैनन्। गणतन्त्रका लागि कहिले लडेनन्, एउटा विचौलिया र ठेकेदार विभिन्‍न कारणले सांसद भयो', उनले आक्रोश पोख्दै भने, 'सांसद भए पनि किसानसिंह श्रेष्ठ विचौलिया नै हो, ठेकेदार नै हो।'

सांसद श्रेष्ठले पैसा कमाएको स्रोत खोज्नुपर्ने माग पौडेलले गरे। 'उहाँ (किसान) ले पैसा कसरी कमाउनु भयो? सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री ओलीको पञ्‍जामा नभएको भए किसान श्रेष्ठ यति बेला जेलमा हुन्थे', उनले भने, 'नेपालको राजनीति गलत संस्कारबाट हुर्किँदैछ। हाम्रा वरिष्ठ नेतामाथि भएको यो घटना नियोजित र पूर्वाग्राही छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.