रेखांकनबाहेक अन्य काम चिनियाँ टोली आएपछि मात्र

|
फाइल फोटो

काठमाडौं : दोस्रो चक्रपथ कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड विस्तारअन्तगर्त रेखांकनको काम ७५ प्रतिशत सकिएको छ। घर भत्काउने र प्रसारण लाइनको टावर सार्नेबाहेक साइट क्लियरेन्सको काम सम्पन्न भएको हो।

गत असाेजमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सरोकारवालाको बैठकले एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिनाभित्र हाई भोल्टेज टावर सार्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन सुरु गर्नेलगायत निर्णय गरेको थियो।

काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर सुमित्रा अधिकारीका अनुसार अहिले बाँकी सडक रेखांकनको काम तीव्र गतिमा भइरहेको छ।  ‘रुख कटानको काम सकिसकिएको छ,’ भनिन्, ‘घर टहरा भत्काइसकेका छौँ। विद्युत् पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ।’

उनका अनुसार अब महाराजगञ्जको १९ वटा घर भत्काउन बाँकी छ। क्षतिपूर्ति विवाद समाधान भइसकेको छ। सडक रेखांकनबाहेक अन्य विस्तारको काम भने चिनियाँ टोली आएपछि गर्ने उनले जानकारी दिइन्। कोभिड–१९ का कारण विस्तारित काम भने ढिलाइ हुने उनले बताइन्। 

स्वयम्भू​काे चैत्य अन्यन्त्र सारिने

‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं’ अभियानले चक्रपथ विस्तारमा विश्व सम्पदामा सूचीकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तूप भत्काउन गइरहेको भन्दै नभत्काउन सरकारसँग माग गरेका छन्।

तर, चक्रपथ विस्तारमा समस्या हुने भएकाले त्यहाँको चैत्य भने भत्काउनुपर्ने देखिएको इन्जिनियर अधिकारी बताउँछिन्। उनले भनिन्, ‘५० मिटर भित्रको चक्रपथ मापदण्डभित्रै चैत्य मन्दिर परेको छ। भत्काइएन भने चक्रपथ विस्तारमा समस्या आउँछ। अन्यन्त्र नै अब चैत्य बन्छ।’ अन्य ठाउँमै चैत्य सार्ने निर्णयसहित काठमाडौं महानगरपालिकासँग सम्झौतासमेत भइसकेको उनले जानकारी दिइन्। 

सरकारले पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको विस्तार गरेको थियो। दोस्रो चरणमा चीन सरकारको सहयोगमा कलंकीदेखि धोबीखोल सम्मको ११.६४ किमीको भाग पनि सोहीअनुसार विस्तारको काम थालेको छ।

सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाका अनुसार चिनियाँ प्रतिनिधि आएपछि मात्रै चक्रपथ विस्तारका अन्य प्राविधिक पक्षका काम गरिने छ।‘चिनियाँ टोली आएपछि सबै काम उनीहरुले गर्छन्, ’उनले भने, ‘हामीले सडक रेखांकन मात्रै गर्ने हो।’ कलंकीदेखि महाराजगञ्ज–धोबीखोलासम्मको चक्रपथ विस्तार कार्यमा ६ अर्बभन्दा बढी लाग्ने उनको अनुमान छ। 

सडक विभागका अनुसार ८ लेनको चक्रपथमा ’ओभरपास’ तथा ‘अण्डरपास’ भने चार लेनको मात्रै हुने छ। सडक सुरक्षाका लागि मूल सडकको बीचमा डिभाइडर पनि राखिने छ।

चक्रपथमा पर्ने बालाजुको नयाँ बजार चोकमा ओभरपास तथा महाराजगञ्ज चोकमा अण्डरपास बनाउने गरी प्रस्ताव गरिने छ। विभागले यो रेखांकनका लागि अघिल्लो दसैंअघिदेखि कलंकीबाट रुख काट्न थालेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.