अन्य २ जना भने दुुई–दुई लाख धरौटीमा छुटे

|

पर्सा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा विन्दवासीनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्तमध्ये २ जना पुर्पक्षका लागि जेल चलान गरिएको छ। 

२ जनालाई भने जनही २/२ लाख नगद धरौटीमा छोडिएको छ। अर्का १७ वर्षीय बालक सवेद्दिन राउत गद्दीलाई भने घटनामा सम्लग्न भएको पुष्टि नपुगेपछि सामान्य तारेखमा आफन्तको जिम्मा लगाइएको पर्सा जिल्ला अदालतले जनाएको हो।

पुर्पक्षका लागि जेल चलान हुनेहरुमा स्थानीय अश्वेस्वर भन्ने अखलेश चौरसिया, उत्तम भनिने निरन्जन तिवारी रहेका पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले बताए। त्यसैगरी जनही दुई/दुई लाख धरौटीमा रिहा हुनेहरु हनिफ मिया जोलाहा र देवा सहनी मलाहा छन्।  

पर्सा जिल्ला न्यायधीश नारायण प्रसाद शर्माको इजलासमा बुधबार सकिएको थुनछेक बहसपछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम चौरसिया र तिवारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश भएको हो।

जोलहा र मलाहालाई पनि सोही संहिताको दफा ६८ बमोजिम धरौटीमा छाडिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार अधिकारीले बताए। मिसिलमा पेस भएका २१ जना प्रतिवादीमध्ये अन्य भने अहिलेसम्म अदालतमा उपस्थित नभएको पर्सा जिल्ला अदालतले जनाएको छ।

पर्साको विन्दवासीनी गाउँपालिकामा गएको कार्तिक ६ गते नेकपाको गाउँ कमिटीको शपथ कार्यक्रममा पार्टीकै कार्यकर्ताबीच झडप हुँदा गाउँ कमिटीका सचिव मुकेश चौरसियाको उपचारका क्रममा घटनाको भोलिपल्ट निधन भएको थियो।

त्यो घटनामा संलग्न भएको आशंकामा घटनास्थलमा भएका र योजनाकारका रुपमा रहेका भनी पीडित पक्षले सुरुमा १२ जना र पछि १५ जना गरी २७ जना नेकपाका नेता कार्यकर्तामाथि पर्सा प्रहरीमा जाहेरी दर्ता गराएको थियो।

जाहेरीमा मुख्य योजनाकारका रुपमा बाहिर हल्ला भएअनुसार संलग्न नभएको पाइएपछि संविधान सभाका सांसद राजकुमार गुप्ताले पहिले नै उन्मुक्ति पाइसकेका छन्।

त्यसैगरी नेकपाका २ प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, केन्द्रीय सदस्य रामचन्द्र साहलगायत ६ जना नेता भने संलग्न नभएको प्रहरी अनुसन्धानले पछि खुलेको छ। प्रहरीले अदालतमा पेस गरेको मिसिलमा २१ जनालाई भने अभियुक्तका रुपमा उल्लेख गरिएको अदालतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.