हत्याराहरु शिर ठाडो पारेर हिँडे, दोषीले उन्मुक्ति नपाऊन्

|

काठमाडौं : सर्लाहीमा गत वर्ष मारिएका कुमार पौडेलको परिवारले न्याय नपाएको भन्दै मानवअधिकारवादीले सञ्चारकर्मीलाई सहयोगको आग्रह गरेका छन्।

आफूहरुले पटक पटक जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिँदासमेत नलिएको र सरकारी वकिल कार्यालयले समेत जाहेरी लिन नमानेपछि सर्वोच्च अदालतसम्म आइपुगेको उनीहरुले बताएका छन्। अब आफूहरुलाई न्याय दिलाउन ढिलाइ नगर्न उनीहरुले आग्रह गरेका छन्। 

‘जिल्ला प्रहरी कार्यालय सर्लाही र सरकारी वकिल कार्यालयले जाहेरी लिन नमानेपछि हामी सर्वोच्च अदालतमा आइपुगेका छौं,’ कुमार पौडेलकी पत्नी कलाले रिपोर्टर्स क्लब नेपालमा भनिन्, ‘हामीलाई न्याय चाहियो।’

मानवअधिकार आयोगले पनि गैरन्यायिक हत्या भनिसकेको अवस्थामा किटानी जाहेरी लिएर दोषीमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरिन्। उनले गलत आरोप लगाएर आफ्ना पतिलाई पक्राउ गरी हत्या गरिएको भन्दै घटनामा संलग्न कसैले उन्मुक्ति पाउन नहुने बताइन्। 

कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले हत्यामा संलग्नहरु शिर उठाएर हिँडिरहेका भन्दै तत्काल कारबाहीको माग गरिन्। न्यायका लागि लामो समयदेखि लडिरहेको भन्दै कारबाहीमा ढिलो गर्न नहुने बताइन्।

उनले रुँदै भनिन्, ‘मेरो निर्दोष छोराको हत्या गर्नेमाथि कहिले कारबाही हुन्छ?’ छोराको हत्यारामाथि कारबाही नभएसम्म आफूहरु न्यायका लागि लडिरहने उनले बताइन्।

कुमारका भाइ हरिकृष्णले सर्लाही प्रहरी र सरकारी वकिल कार्यालयले जोहेरी लिन नमानेपछि सर्वोच्च अदालतमा रिट दायरपछि अदालत कारबाही बढेकोमा आशा व्यक्त गरे। न्यायको लडाइँमा निरन्तरता दिइरहने र दोषीलाई कारबाही गरेरै छाड्ने उनले दृढता व्यक्त गरे। 

२०६६ साल असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का पौडेल प्रहरी मुठभेठमा मारिएको भनी प्रहरीले दाबी गरेकोमा राष्ट्रिय मानवअधिकार आयोगले गैरन्यायिक हत्या ठहर गरेको थियो।

आयोगले दोषीको नाम किटान गरी कारबाही सिफारिससमेत गरेको थियो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.