|

दाङ : दाङका  थप ३ जना कोरोना भाइरस संक्रमितको बाँकेमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ३ जना कोरोना संक्रमितको छन्। तुलसीपुरमा उपमहानगरपालिका १६ का २६ वर्षीय पुरुष,  वडा नं ११ का ४५ वर्षीय पुरुष र  वडा नं ५ का  ८१ वर्षीय पुरुषको बाँकेमा उपचारको क्रममा मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

२६ वर्षीय पुरुषको राति करिब १२:१० बजे र ४५ वर्षीय पुरुषको राति करिब ९ बजे भेरी अस्पताल नेपालगञ्‍ज र ८१ वर्षीय पुरुषको राति करिब १०:४५ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।

उनीहरुको पिसिआर परीक्षण गर्दा क्रमश: यही मंसिर  १०, ३ र १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै तुलसीपुरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।  त्यस्तै, जिल्लामा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १७० पुगेको छ।

स्वास्थ्य कार्यालय दाङका अनुसार २२ हजार ३९४ स्वाब संकलन गर्दा ३ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये २ हजार ७५३ जना निको भएर डिस्चार्ज भएका छन्, भने ३८५ जना सक्रिय संक्रमितहरू रहेको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए।

उनका अनुसार जिल्लामा बिहीबार राति ८ बजेसम्मको तथ्यांकअनुसार ३२ जना संक्रमितहरूको मृत्यु भइसकेको छ। त्यस्तै, सक्रिय संक्रमितमध्ये ३२५ जना होम आइसोलेशन र ६० जना संस्थागत आइसोलेशनमा रहेको समेत फोकल पर्सन चन्दले जानकारी दिए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.