सहयोगापेक्षी भन्छन्‌ : खुलामञ्‍चबाट लखेट्नेसँग के आश गर्नु

|

काठमाडौं : – प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाखमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा भनेका थिए, ‘सडकमा बाध्यतावश मागेर हिँडेको मान्छे देखे तुरुन्त फोन गर्नुस्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले जिम्मेवारी लिन्छ।’ त्यसपछि आम मानिसलाई लाग्यो : अब सडकमा मानिस मागेको देखिने छैनन्। 

उनै ओलीले २०७६ कात्तिक ४ गते सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै भने, ‘अब सडकमा कोही पनि सुतेको, जिङ्ग्रिङ्ग भएर बसेको देख्नुपर्दैन। सडकमा मान्छे हुनै सक्दैन। हरेकको व्यवस्था गरेर आवास दिइन्छ। अब नो स्ट्रिट पिपुल।’

ओलीले तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘हिजो झैँ आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव छन्, न भीख मगुवाहरू छन्, सरकार मानव समाजलाई सभ्य बनाउने बाटोमा अघि बढेको छ।’

प्रधानमन्त्री ओलीले सडकमा मगन्ते नभएको भन्दै जे दावी गरिरहेका छन्‌, सडकमा नगर लगाउँदा उनका सबै दावी झुठा ठहरिन्छन्‌। उनले अहिले मात्रै होइन, पहिल्यैदेखि सडकमा मगन्ते र सडक बालबालिका नभएको दाबी गरिरहेका छन्‌।

तर अहिले पनि बौद्ध, पशुपति, रत्नपार्क, सुन्धारा लगायत क्षेत्रको सडकमा कोही गीत गाएर सडकमा पैसा मागिरहेका भेटिन्छन्‌ त कोही हात फैलाइरहेका भेटिन्छन्‌। कोही सटरको चिसो पेटीमा भोकभोकै पल्टिरहेका छन्‌। तर, प्रधानमन्त्री ओलीले मुखले व्यवस्थापन गरिसकेको बताइरहँदा राज्यले उनीहरूलाई सडकमै छाडिदिएको छ

थाहाकर्मी वीर अस्पताल अगाडीको महाँकाल मन्दिर पुग्दा लहरै तीन जना मगन्ते हात फैलाइरहेका थिए। त्यस मध्येका एक थिए गणेश मगर। 

‘नेताले हेर्दैनन्‌, भाषणमात्रै गर्छन्’

मुग्लिङका गणेश मगरले सडकमै जीवन बिताएको पाँच वर्ष भैसकेको छ। कहिले महानगरपालिकाले खेद्छ त कहिले प्रहरीले। तर,पनि उनी रत्नपार्क क्षेत्रभित्रै मागेर गुजारा चलाइरहेका छन्‌। भन्छन्‌, ‘सडकमा आउन मन कहाँ हुँदो हो र? घरपरिवार नभएपछि यसरी नै बस्नुपर्दो रहेछ।’

सरकारले केही सहयोग नगरेको गुनासो पोख्छन्‌ उनी। ‘राज्य चलाउने ठूला नेता त भाषण ठोकेर देश लुट्ने हुन्‌। खुलामञ्चमा सहयोगीले निःशुल्क खाना खुवाउँदा त बन्द गरिदियो, यस्तो गर्ने सरकारसँग के अपेक्षा गर्नु?’ मगर भन्छन्‌।

हामी फेरि पशुपतिमा पुग्यौँ। त्यहाँ पुग्दा वृद्ध प्रेममाया आलेमगर मन्दिर अगाडी सडकमा पैसा मागिरहेका भेटिइन्। काठमाडौंमा बसेको १४ वर्ष भैसकेको उनले सुनाइन।

परिवारबाट अपहेलित भएपछि जसोतसो काठमाडौं छिरेकी आलेले वृद्ध भत्ताले जीवन गुजारा चलाइरहेकी थिइन्‌।,’ भावुक हुँदै उनले सुनाइन्‌, ‘चार वर्षअघि मेरो नागरिकता र भत्ता कार्ड नै हरायो, काम गर्न सकिन, पैसा पाउने कागजपत्र हराएपछि सडकमा आएँ।’

नागरिकता र भत्ता कार्ड बनेमा यसरी सडकमा नबस्ने उनी बताउँछिन्‌। भनिन्‌, ‘भत्ता पाएँ भने त म यसरी सडकमा बस्दै बस्दिनँ। मलाई सडकमा बस्न मन छैन।’ उनीसँगै भेटिएकी कान्छीमाया महर्जनले पनि हात फैलाएरै अहिलेसम्म भोको पेट भरेको बताइन्‌।

‘दिनेले पैसा दिन्छन्‌, नदिनेले दिदैँनन्‌, दिनमा ५० रुपैयाँसम्म हुन्छ। त्यही पैसाले बिस्कुट किनेर खान्छु, राती यहीँ बस्छु,’ यति बताएकी उनी थप खुल्न चाहिनन्‌। 

दैनिक ३० जनाको उद्धार

मानव सेवा आश्रम समिति, प्रदेश ३ का संयोजक सुमन बर्तौलाले सातवटै प्रदेशबाट खुला आकाशमुनि रहेका दैनिक ३० जना व्यक्तिको उद्धार गर्ने गरेको बताउँछन्‌। २०६९ देखि हालसम्म करिब ४५ सय जनाको उद्धार गरेको उनले जानकारी दिए।

‘अहिले हामी सडकमै पुगेर उद्धारमा खटिका छौँ,’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेर काम गरेका छौँ।’ प्रधानमन्त्री ओलीले अहिले सडकमा कोही पनि मगन्ते नभएको दाबी गरिरहेका छन्‌, के साँच्चै सडकमा त्यस्ता व्यक्तिहरू छैनन् ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अहिले पनि सडकमा मगन्तेहरू छन्‌। प्रम ओलीले बोल्नुभएको कुरामा अलिक सत्यता छैन। उहाँले दुःख पाएकाहरू घटेका छन्‌ भन्नुभएको होला।’ 

यही फागुन मसान्तसम्ममा करिब चार सय बेसहारा व्यक्तिहरूको उद्धार गर्ने योजना रहेको उनी बताउँछन्। उनका अनुसार उद्धार गरेर आश्रममा राखेपनि भाग्ने गरेका छन्। हाल करिब ३५ सय भन्दा बढी आश्रममा छन्।

‘कोभिडले गर्दा सडकमा मगन्ते आएका छन, हामी व्यवस्थापन गर्छौं’

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले कोभिड–१९ ले गर्दा सडकमा आएका गरिब र  दिन-दु:खीहरूको व्यवस्थापन गर्न समस्या भएको तर्क गर्छन्।

उनले भने, ‘मानव आश्रमसँगको समन्वयमा व्यवस्थापन गर्दै आएका थियौँ। कोरोना त्रासका कारण अहिले व्यवस्थापन गर्न सकिएको छैन। त्यसैले उनीहरू सडकमा आएका छन्‌।’

सडकमा आएका व्यक्तिहरूको व्यवस्थापनको लागि कोठाको खोजीकार्य गरिरहेको जानकारी दिँदै उनले खाली कोठा भेटिएपछि उद्धार गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.