|

नयाँ दिल्ली : कृषि कानुनविरुद्ध भारतका किसानको प्रदर्शनको आज नवौं दिन भएको छ। सरकारसँग शनिबार हुने भनिएको वार्ता अघि शुक्रबार किसानहरुले ठूलो घोषणा गरेका छन्। 

उनीहरुले ८ डिसेम्बरमा भारत बन्द घोषणा गरेका हुन्। किसानहरुले यो घोषणाका क्रममा गाउँदेखि टोलसम्म बन्द राख्न अपिल गरेका छन्।

उनीहरुले आगामी दिनमा दिल्लीका बाँकी सडकका नाका पनि ब्लक गर्ने बताएका छन्। किसान नेता हरविन्दर सिंह लखवालका अनुसार शनिबार आन्दोलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाइनेछ।

यसबीचमा उच्च अदालतमा दिल्लीको सीमाबाट किसानलाई तुरुन्त हटाउन भन्दै निवेदन परेको छ। कोरोना संक्रमण फैलिन सक्ने भन्दै अदालतमा यस्तो निवेदन परेको हो। तर यस निवेदनमा सुनुवाइको मिति तय भएको छैन।

यता किसान भाइहरुलाई शुक्रबार दिदी अर्थात बंगालकी मुख्यमम्त्री ममता बनर्जीको पनि समर्थन मिलेको छ। ममता बनर्जीले कयौँ किसान नेतालाई फोन गरेकी छन्। उनले केन्द्रीय कृषि कानुनविरुद्ध किसानको आन्दोलमा पूरा साथ रहेको बताएकी छन्। 

किसानको समर्थनलाई भन्दै सरकारी अवार्ड फिर्ता अभियान नै चलेको छ। लेखक डा. मोहनजीत, चिंतक डा. जसविन्दर र पत्रकार स्वराजबीरले आफ्नो साहित्य एकडेमी अवार्ड फिर्ता गरिदिएका छन्। बिहीबार पञ्जाबका पूर्व मुख्यमन्त्री प्रकाश सिंह बादलले आफ्नो पद्मविभूषण अवार्ड फिर्ता गरेका थिए। उनका अलावा राज्यसभा सांसद सुखदेव सिंह ढिंढसाले आफ्नो पद्मभूषण फिर्ता गर्ने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.