|

दाङ : दाङमा कोरोना भाइरस संक्रमणबाट ३५ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, कोरोना संक्रमण हुनेको संख्या ३१ सयभन्दा बढी पुगिसकेको छ। तर, पछिल्लो समय सर्वसाधरण भने भने कोरोना महामारी नै नभएजस्तै बजारमा बेपर्वाह हिँडिरहेका छन्।

सर्वसाधरणहरु बेपर्वाह हिँड्न थालेपछि स्थानीय प्रशासनले भने कोरोना जोखिम उत्तिकै रहेकाले कोरोना संक्रमणको जोखिमबाट बच्न मास्कबिना बजारमा हिँड्डुल गरेका नागरिकलाई मास्क लगाउन आग्रह गर्ने अभियान चलाएको छ। दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यसहित सुरक्षाकर्मीहरु दाङका प्रमुख बजार तुलसीपुर, घोराही र लमही क्षेत्रमा पुगेर सर्वसाधरणलाई मास्क लगाउन आग्रह गर्दै आएका छन्।

शुक्रवार सिडिओसहितको सुरक्षाकर्मी टोलीले तुलसीपुरको वीरेन्द्र चोक पुगेर मास्कबिना हिँड्डुल गरेका सर्वसाधरणलाई सम्झाइबुझाइ गर्दै केहीलाई निःशुल्क र केहीलाई सशुल्क मास्क वितरण गरेको छ। कोरोनाबाट बच्ने उपाय भनेकै मास्क लगाउनु, स्यानिटाइजर प्रयोग गर्नु, साबुनपानीले हात धुनु, सामाजिक दूरी कायम गर्नु जस्ता क्रियाकलाप भएकाले सर्वसाधरणलाई यसबारे सचेत गराउने अभियान सञ्चालन गरिएको सिडिओ आचार्यले बताए। सडकमै पुगेर यसरी नागरिकको निगरानी गर्नु रहर नभई स्वास्थ्य सुरक्षाको संवेदनशीलता ध्यानमा दिएको उनको भनाइ छ।

यस अभियान तीन सातादेखि प्रत्येक शुक्रबार सञ्चालन हुँदै आएको छ। नागरिकबाट लापरवाही हुन थालेपछिसडकमै उत्रिएर सचेताना अभियान थालिएको सिडिओ आचार्यले बताए। यस्तै, अटेर गरी जथाभावी हिँड्डुल गर्नेलाई कानुनबमोजिम कारवाही पनि गरिरहेको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय दाङले एक महिनाको अवधिमा मास्क नलगाई हिँड्डुल गर्ने १ हजार ३० जनालाई कारबाही गरिसकेको छ। गत कात्तिक १९ देखि मंसिर १९ सम्म कोरोना भाइरस संक्रमण फैलिन नदिन तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको  सूचनाको  अवज्ञा गरी माक्स नलगाई हिँड्डुललाई कारवाही गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले बताए। कारबाहीबाट १ लाख ३० हजार रुपैयाँ जरिवाना संकलन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.