सबैतिरबाट दबाब दिए सरकार बाध्य हुने भनाइ

|

गुल्मी : छत्रकोट गाउँपालिका–५ का प्रकाश घिमिरेको खरबारीमा सालका रुख छन् तर उनले आफूले चाहेको समयमा काट्न र बेच्न पाएका छैनन्। 

आफूले हुर्काएका ती रुख काट्न र किनबेच गर्न पाउनुपर्ने उनले माग गरे। पारिवारिक निजी वन संघ नेपाल गुल्मीले आयोजना गरेको जिल्लास्तरीय संवाद कार्यक्रम तथा विस्तारित बैठकमा उनले यस्तो गुनासो गरेका हुन्। 

रेसुंगा नगरपालिकामा व्यवसाय गर्दै आएका भेषराज कँडेलले सरकारलाई निश्चित कर तिरेरै भए पनि सालका रुखहरु काट्न र आफूले चाहेको समयमा बेच्न पाउनुपर्ने बताए। 'जग्गाको लालपुर्जा छ, तिरो पनि तिर्छौं, तर त्यही जग्गामा भएको सालको रुख काट्न र बेच्न नपाइने किन?' उनले प्रश्न गरे।

सामुदायिक वनहरुले रुख काट्न पाउने तर निजी वनका रुख भने काट्न नपाइने भन्दै सहभागीहरुले आक्रोशसहित प्रश्न गरेका थिए। सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख कटान हुने तर निजीलाई विभेद गरिएको प्रति उनीहरुले आपत्ति जनाए। 

सरकारलाई बाध्य पार्छौ : केन्द्रीय उपाध्यक्ष

यता पारिवारिक निजी वनका केन्द्रीय उपाध्यक्ष मेघराज भुसालले निजी वनका रुखहरु बिनाझन्झट काट्न र बेच्न पाउनुपर्ने दाबी गरे। वनमा हुने कालिज, बँदेललाई पाल्न र खान फुकुवा गर्ने तर आफ्ना रुखहरु काट्न र बेच्न नपाइने भन्दै सबैले सरकारलाई दबाब दिनुपर्ने बताए। सबैले दबाब सिर्जना गरेपछि सरकार पनि बाध्य भएर फुकुवा गर्नेमा आफूहरु ढुक्क भएको उनको भनाइ छ। 

समन्वय गर्छौं : प्रदेश सांसद

लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीले स्थानीयस्तरमा आएका समस्यालाई समाधान गर्न आफूले पहल गर्ने बताए। आफूहरु जनताको प्रतिनिधि भएकाले जनताको समस्यालाई निराकरण गर्न प्रदेशमा समन्वय गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.