राजमार्गमा भएका खाल्डाखुल्डी पनि दुर्घटनाका कारण

|

बर्दिया : गएको कात्तिक २३ गते बढैयातालमा सवारी दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गयो। बढैयाताल गाउँपालिका–८ तिलकानामा सवारी दुर्घटनामा परी घाइते भएका दुई जना श्रीमान श्रीमतीकै उपचारका क्रममा ज्यान गएको थियो।

ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बढैयाताल–७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिताको ज्यान गयो। कात्तिक २७ गते बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका २ जना दाजुभाइले ज्यान गुमाए। दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ को नेउलापुरका २२ वर्षीय आशीष थारू र १९ वर्षीय सौरभ थारूको ज्यान गयो।

राजमार्गमा रोकिराखेको ना३ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको ना५५प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवै दाजु भाइको ज्यान गएको थियो।

मंसिर ४ गते धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बर्दियाको ठाकुरबाबा नगरपालिकाकी २१ वर्षीय युवतीले ज्यान गुमाउनुपर्यो। मंसिर १० गते बर्दियाको मधुवन र गुलरियाको सीमा क्षेत्रमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भए। 

यस्तै २ दिनअघि मात्रै मंसिर १८ गते बर्दियाको मधुवनमा कार र टिप्पर एक आपसमा ठोक्किँदा २ जनाले ज्यान गुमाए। मधुवन नगरपालिका–४ ढोढरी बेलुवा चोक नजिक कार र टिप्पर ठोक्किँदा २ जनाको घटनास्थलमै ज्यान गएको थियो।

दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका–४ बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुर जिल्लाका १७ वर्षीय निधि सुनारको ज्यान गुमाए। 

मंसिर १९ गते बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकास्थित खैरापुरमा बस दुर्घटना हुँदा ३३ जना घाइते भए। गुलरियादेखि पश्चिमतर्फ गइरहेको भे१ख २१२४ नम्बरको गुडिरहेको बस अनियन्त्रित भएर सडक किनारमा पुग्दा बसमा सवार ३३ यात्रु घाइते भएका छन्।

यस्तै मंसिर १९ गते राति नै सवारी साधनको ठक्करबाट बर्दियामा एक राष्ट्रसेवक कर्मचारीले ज्यान गुमाए। नापी कार्यालय बर्दियामा कार्यरत सर्भेक्षक टिकेन्द्र प्रसाद धमलाको सवारी दुर्घटनामा परी ज्यान गयो। बाटोमा हिँडिरहेका धमलालाई पछाडिबाट सवारी साधनले ठक्कर दिएको थियो। ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सोही दिन बारबर्दिया–८ मा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो। ना५ख ७६७३ नम्बरको बस र लु६२प ४२४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। घटनामा ठाकुरबाबा नगरपालिका–५ का  रुपलाल थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

बर्दियामा पछिल्लो समय सवारी दुर्घटना बढ्दो छ। अहिले चिसोको समयमा अझ बढी दुर्घटना जोखिम बढेको छ। यो समयमा साँझ र बिहान हुस्सु लाग्ने गरेका कारण पनि सवारी साधन चलाउन समस्या हुन्छ। त्यसैमाथि राजमार्गको अवस्थाले अझ जोखिम निम्त्याउने सवारी चालकहरु बताउँछन्।

ट्राफिक चेकजाँच फितलो हुँदा बढ्यो दुर्घटना

लकडाउन सुरु भएसँगै रोकिएको ट्राफिक चेकजाँच सक्रिय रुपमा सुचारु हुन नसक्दा बर्दियासहित देशभर दुर्घटना बढेको छ। 

साँझको समयमा मदिरा सेवन गरेर दुईपांग्रे मोटरसाइकल तीपांग्रे अटो रिक्सा तथा चारपांग्रे सवारी चलाउनेको संख्या बढेको छ। चेकजाँच नहुँदा अटो रिक्सा चालकहरुले तीव्र गतिमा अटो चलाउने गरेका कारण पनि दुर्घटना बढ्न थालेको छ। 

सडकमा ट्राफिक प्रहरी देखे मात्र ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढेको स्थानीयहरुले गुनासो गरेका छन्। लकडाउनका कारण ट्याक्टर टिप्पर बसलगायत सवारीका चालक बिदामा बसेका र लाइसेन्स नभएका सहचालकहरुले नै सवारी चलाउँदा पनि दुर्घटना बढ्न थालेको हो।

राजमार्गमा भएका खाल्डाखुल्डी पनि दुर्घटनाका कारण

पूर्व–पश्चिम राजमार्गको बर्दिया खण्डमा पर्ने राजमार्गको सडकमा जताततै खाडल छन्। सवारीसाधन चलाउन निकै सकस पर्ने गरेको छ। राजमार्गको मानखोला–भुरिगाउँ सडकखण्डमा खाल्डाखुल्डी परेको निकै समय भइसक्यो। अहिलेसम्म मर्मत भएको छैन। राजमार्ग मर्मत नहुँदा यातायात संचालनमा कठिनाइ भएको छ।

पूर्वपश्चिम राजमार्ग अत्यन्तै व्यस्त राजमार्ग हो। यहाँ दिनहुँ सयौँ सानाठूला सवारी साधान चल्ने गर्छन्। खाडल परेको महिनौं बित्दा पनि राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

पूर्वपश्चिम राजमार्गको मानखोलादेखि भुरिगाउँसम्म करिब ४० किलोमिटर खण्डका सयौँ स्थानमा सानाठूला खाल्डाखुल्डी छन्। सबैभन्दा बढी खाल्डाखुल्डी कतरनियादेखि भुरिगाउँसम्मको क्षेत्रमा छ। भुरिगाउँदेखि कर्णाली चिसापानी क्षेत्रमा पनि उस्तै खाल्डाखुल्डी छन्। 

सडक मर्मतसम्भार गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय नेपालगन्जको हो। तर सडक डिभिजनले सडक मर्मतमा कुनै चासो दिएको छैन। ससाना खाल्डामा माटो हाल्ने काम मात्र भएको छ।

केही समयअघि टालटुल पारेको ठाउँ पनि फेरि उस्तै छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सडक मर्मतका लागि डिभिजन सडक कार्यालयलाई निर्देशन दिएको बताए पनि मर्मतको काम भने हुन सकेको छैन। 

'जरिवाना मात्रै ठूलो कुरा होइन, सम्झाइबुझाइ पनि जरुरी छ'

चेकजाँच नहुँदा चोरीका मोटरसाइकलसमेत सक्रिय रुपमा चलिरहेका, राजमार्गमा भएका खाल्डाखुल्डीले समेत दुर्घटना निम्त्याएको भन्दै स्थानीयहरुले मोटरसाइकल, अटोरिक्सा, ट्याक्टर, टिप्परलगायत सवारीहरुमा सवारी सानधन अनुमति पत्र लाईसेन्स र बिलबुक चेक जाँचमा कडाई गरि दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीलाई अनुरोध गरेका छन्। 

पूर्वपश्चिम राजमार्गको बाँसगढी कर्तनिया भुरिगाउँ हुँदै आम्बासासम्म, हुलाकी सडकअन्तगर्त भोलागौडी, मैनापोखर, गुलरिया बेलवा चोक बगनाहा भुरिगाउँ यस्तै कोठियाघाट मानपुरटपरा र राजापुर सम्म ट्राफिक चेकजाँच कडाइ गर्नुपर्ने जनाइएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.