|

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार चार घण्टासम्म बसेको सचिवालय बैठकमा नेताहरुबीच घोचपेच भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच घोचपेच भएको हो। 

बैठकमा सहभागी एकजना नेताका अनुसार दाहाल र नेपाल कुनै पनि हालतमा बैठक राख्नुपर्ने पक्षमा उभिँदा ओली अहिले त्यसको कुनै जरुरी नरहेको भन्दै पन्छिन खोजेका थिए। 

अध्यक्ष दाहालले भोलि नै स्थायी कमिटी राख्नै पर्ने अडान लिएपछि प्रधानमन्त्रीले बहुमत-अल्पमतको खेल गर्ने भए बैठक बस्नुको कुनै औचित्य नरहेको बताएका थिए। 

अर्कातिर वरिष्ठ नेता नेपालले भने केही नरम शैलीमा ओलीलाई बैठकमा आउन अझै केही दिन दिन सकिने मत राखेका थिए। उनले बैठक बस्न‍ै पर्ने मत राख्दै तर त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई केही दिन समय दिन सक्ने उल्लेख गरेका थिए। 

‘ल ठीक छ, भोलि स्थायी कमिटी नराख्ने हो भने कहिले बोलाउने हो तपाईं नै भन्नु', नेत नेपालको भनाइ उद्धृत गर्दै एक नेता भन्छन्, 'अझै कति दिन चाहिन्छ?  दुई दिन, तीन दिन अझै त्यो भन्दा बढी, तर बैठक चाहिँ बस्नै पर्छ।'

वरिष्ठ नेता नेपालले त्यसो भनेपछि ओलीले बैठक छल्ने कोशिश गरेको स्रोत बताउँछ। ओलीले आज पनि बैठक स्थगित गरेर अझै छलफल अघि बढाउनुपर्ने राय राखेका थिए। तर दाहाल-नेपाल दुवैजना त्यो कुरा मान्‍ने पक्षमा देखिएनन्। 

वरिष्ठ नेता नेपालले ओलीले अझै मनलाग्दी गर्न नछाडेको बताएका थिए। उनले कर्णाली प्रदेशमा अर्को पक्षका मुख्यमन्त्रीलाई हटाउने खेलमा ओली लागेको आरोप लगाएका थिए। उनले आफ्नो गुटका नेतालाई मन्त्री बनाउन अर्को गुटका वरिष्ठ नेताहरुको मानमर्दन गरेको आरोप ओलीमाथि लगाए। आफ्नालाई सरकारमा ल्याउन अर्को समूहका सिनियर नेताहरुलाई सिद्याउने खेलमा ओली लागेको आरोप नेता नेपालको थियो। 

ओलीले बैठकमा सकेसम्म अध्यक्ष दाहाल र आफ्नो प्रतिवेदनबारे कार्यदल बनाएर जाने राय राखेका थिए। अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले पनि कार्यदल बनाएर दुवै प्रस्तावलाई संयुक्त बनाइ अघि बढ्नुपर्ने कुरा बैठकमा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.