|

काठमाडौं  :  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र मात्रै होइन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसदेखि जनता समाजवादी (जसपा) सम्म विवाद उस्तै छ। 
 

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन समाजवादी पार्टीको एकीकरण पछि बनेको जसपामा समायोजनको प्रक्रिया सुरु भएसँगै विवाद सुरु भएको छ।  
जसपाको प्रदेशस्तरमा समायोजन प्रक्रिया सुरु भएसँगै विवाद चुलिन थालेको हो। समाजवादी पार्टी र राजपाबीच गत वैशाख १० गते पार्टी एक भएको थियो। उही बेलामा पार्टीको नेतृत्वमा को–को नेता रहने भन्ने विषयमा चर्को विवाद भएको थियो।

केन्द्रीय कार्यकारिणी समितिको विवाद समाधान भए पनि प्रदेश तथा स्थानीय कमिटीको विवाद भने समायोजन प्रक्रिया सुरु भएसँगै चुलिएको हो।  

जसपाको केन्द्रीय कार्यकारिणी समितिले निर्देशिका नै तयार पारेर पार्टी समायोजनको काम अघि बढाएको छ।  समायोजनको काम सुरु हुँदा नहुँदै पार्टीभित्र विवाद चर्केको हो। विशेष गरी प्रदेशस्तरमा तत्कालीन समाजवादी र राजपाबीच विवाद चुलिन थालेको हो। 

प्रदेश १ 

तत्कालीन समाजवादी पार्टी र राजपाबीच प्रदेश १ मा समायोजनको विषयलाई लिएर विवाद चर्केको छ। प्रदेश १ मा तत्कालीन समाजवादीले एकतर्फी ढंगले समायोजनको काम थालनी गरेको भन्दै तत्कालीन राजपाका नेताहरूले आपत्ति जनाएका छन्।

तत्कालीन राजपाका नेताहरूले जसपाको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको निर्देशिकाविपरीत समाजवादीले कुनै जानकारी नै नदिई समायोजनको क्रियाकलाप अगाडि बढाएको भन्दै आपत्ति जनाएका हुन्।

तत्कालीन राजपाका तर्फबाट प्रदेश १ का अध्यक्ष फत्तलुङ योङहाङ र मुख्यसचिव सत्यनारायण शाहले विज्ञप्ति नै जारी गरी तत्कालीन समाजवादी पार्टीका नेताहरुलाई समायोजन प्रक्रिया सहज बनाउन भनेका छन्।  

‘राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादीबीच ०७७/१/१० गते दुई पार्टी एकता भई जनता समाजवादी पार्टी नेपालको समायोजन निर्देशिका नै जारी भइसकेको अवस्थामा प्रदेश नम्बर १ मा समायोजन प्रक्रिया चलिरहेको अवस्थामा राष्ट्रिय जनता पार्टी प्रदेश समितिलाई कुनै जानकारीविना पूर्व-समाजवादी पार्टीले जनता समाजवादी पार्टीको नाम राखी पार्टीको समायोजन निर्देशिकाविपरीत समायोजन प्रक्रियालाई प्रभाव पार्ने विभिन्न निर्णय तथा क्रियाकलाप गरेकोले यस्तो एकतर्फी निर्णय स्वीकार हुन नसक्ने जानकारी भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ’ विज्ञप्तीमा भनिएको छ।  

तत्कालीन समाजवादीले जसपाका केही नेतालाई शपथग्रहण नै गराइसकेको आरोप तत्कालीन राजपाको छ।  समायोजनको काम नै नभई शपथ गराएको भन्दै राजपाले आपत्ति जनाएको हो।  

यता, समाजवादीले भने प्रदेश १ मा तत्कालीन राजपाको कुनै संगठन नै नरहेकोले केन्द्रीय कार्यकारिणी समितिको निर्देशिकाबमोजिम नै पार्टीको संगठन निर्माणको काम भइरहेको बताएको छ।  ‘प्रदेश १ मा तत्कालीन राजपाको कुनै संगठन थिएन। त्यसैले हामीले केन्द्रसँग समन्वय गरेर समायोजनको काम अघि बढायौँ’ तत्कालीन समाजवादी पार्टीका प्रदेश १ का अध्यक्ष एवं जसपाका केन्द्रीय सदस्यसमेत रहेका प्रवीण चाम्लिङले भने। 

लुम्बिनी प्रदेश  

प्रदेश १ कै जस्तो विवाद लुम्बिनी प्रदेशमा पनि देखिएको छ। यहाँ पनि राजपाले समाजवादी पार्टीले एकलौटी गरेको आरोप लगाएको छ।

‘समायोजन भन्दा अगाडि नै पूर्व-राजपा प्रदेश समितिलाई कुनै जानकारीविना पूर्व-समाजवादीको प्रदेशस्तरीय बैठकलाई जसपाको नामबाट प्रचारित गर्ने, निर्णय गर्ने जस्ता क्रियाकलाप भएको प्रति र निर्णय पूर्ण तय अस्वीकार्य रहेको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउदछौँ,’ राजपाका तत्कालीन प्रदेश ५ का संयोजक स्वामीनाथ चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रदेश १ मा जस्तै तत्कालीन समाजवादीका नेताहरुले लुम्बिनी प्रदेशमा पनि राजपाको संगठन नभएको दाबी गर्छन्।  यता, राजपाका नेताहरु भने लुम्बिनी प्रदेशमा राजपाको कुनै संगठन नरहेको भनेर समाजवादीका नेताले गरेको प्रचार झुट भएको बताउँछन्।

‘उनीहरूले जसपाको नभई समाजवादीको राजनीति गरिरहेका छन्,’ राजपाका एक नेताले थाहाखबरसँग भने, ‘उनीहरूले समायोजनको काममा पनि समन्वय गर्दैनन् भने हामी त्यसमा किन सहभागी हुने? केन्द्रमा हामीले यो कुरा गरिसकेका छौँ। केन्द्रीय कार्यकारिणी बैठकमा यसबारे छलफल हुने खबर आएको छ।’ 

राजपाले गत वर्षको चैत १० गते ७६ सदस्यीय प्रदेश कमिटी गठन गरेर केन्द्रलाई बुझाइसकेको बताएको छ। राजपाले दुई पार्टीको एकीकरण गत बैशाख १० मा भएको र प्रदेश कमिटी गठन त्योभन्दा एक महिनाअघि नै भएको दाबी गरेको छ। तत्कालीन राजपाले प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आफ्नो प्रदेश कमिटी रहेको बताएको छ।  

प्रदेश २ को सरकारमा जान उस्तै रडाको 

प्रदेश २ मा आफ्नो बलियो उपस्थिति रहेको जसपामा समायोजनपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद उस्तै छ। प्रदेश २ मा जसपाकै सरकार छ। प्रदेश २ मा बलियो उपस्थिति भएकै कारण त्यहाँ प्रदेश अध्यक्ष हुने आकांक्षीहरू धेरै छन्।

तत्कालीन समाजवादी पार्टीको तर्फबाट त्यहाँ विजय यादव प्रदेश अध्यक्ष छन्। राजपाले भने आन्तरिक विवादका कारण अध्यक्ष तोक्नै सकेको थिएन।

प्रदेश २ को अध्यक्ष तत्कालीन समाजवादीले आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ। समाजवादीले समायोजन पछिको प्रदेश अध्यक्षको लागि रेणु यादवलाई अघि बढाउने तयारी गरेको छ।

समायोजनपछि बन्ने सरकारको नेतृत्व गर्नका लागि समाजवादी र राजपाका नेताबीच संसदीय दलको नेता बन्ने हानथाप पनि चलिरहेको छ। संसदीय दलको नेता जो भन्छ उही मुख्यमन्त्री बन्ने भएकोले यहाँ अन्य प्रदेशमा भन्दा बढि विवाद चुलिएको हो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.