फाइजर कम्पनीले बनाएको ७० डिग्री सेल्सियसमा राख्नुपर्ने खोप भने नल्याइने

|

काठमाडौं : विश्वमा कोरोनाविरुद्ध खोपको उत्पादन र वितरणको तयारी भएसँगै नेपालले पनि  खोप ल्याएर भण्डारण गर्ने कामलाई तीव्रता दिएको छ। कहिलेसम्म खोप आइपुग्छ त्यो यकिन नभए पनि यसको आन्तरिक तयारीमा सरकार लागिपरेको छ। 

यसअघि सरकारले कोभिड–१९ महामारीविरुद्ध खोप प्राप्तिका लागि तेस्रो चरणको परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ। विभागीय मन्त्रालयको हिसाबले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याएर उचित भण्डारण गर्नेछ। 

मन्त्रालयले माइनस २० डिग्री सेल्सियस सम्मको चिस्यान क्षमता  (कोल्ड चेन) मा भण्डार गर्न मिल्ने खोप भण्डारण स्थान विस्तारको कामलाई पनि बढाएको छ। 

खोप आउने टुंगो नभए पनि तयारी तीव्र

कस्तो प्रकृतिको खोप आउने भन्ने निश्चित नभइसको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीले बताए।खोप व्यवस्थापनका लागि द्रुत कार्य योजना, कोरोनाविरुद्ध खोप पूर्वाधार विश्लेषण, भण्डारण तथा आवश्यकताको आकलन गर्ने समिति संयोजकसमेत रहेका भण्डारीका अनुसार ​माइनस २० डिग्री सेल्सियससम्म चिस्यान कायम राख्ने गरी खोप भण्डारणको तयारी गरिएको छ। 

सातै प्रदेशमा एक /एक स्थानमा यो मापदण्डको चिस्यान कक्ष बनाउने उनले जानकारी दिए। भने, ‘कस्तो खोप आउने निश्चित नभए पनि भण्डारण गर्न सकिने खोपको सम्भावना देखेरै यसको तयारी गरिएको छ।‘

भण्डारणका लागि आवश्यक उपकरण खरिद र कोल्ड चेनको व्यवस्थापन गर्न चार करोड रुपैयाँसमेत विनियोजन भइसकेको भण्डारी बताउँछन्। 

अमेरिकी कम्पनी फाइजरले बनाएको माइनस ७० डिग्री सेल्सियसमा राख्न मिल्ने भ्याक्सिनका लागि तयारी भने नगरिएको उनले बताए। हाल  नेपालमा आठदेखि माइनस २० डिग्री सेल्सियस तापक्रम कायम राख्नसक्ने चिस्यान क्षमता छ।

माइनस २० डिग्री क्षमताको खोप ल्याउने गरी बनाइने पूर्वधार क्षमता भने नेपालमा एकदमै कम छ। हाल माइनस २० डिग्री सेल्सियसको चिस्यान क्षमता १५ हजार लिटर छ, त्यसमध्ये दुईदेखि ८ डिग्री सेल्सियस तापक्रम कायम राख्नसक्ने चिस्यान क्षमता एक लाख ९५ हजार लिटर छ। तर यो क्षमता नियमित खोपका लागि मात्र पर्याप्त रहेको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.