|

जुम्ला : सदरमुकाम खलंगामा नियमित बिजुली आपूर्ति नहुँदा दियालो बालेर राज्यको ध्यानाकर्षण गरिएको छ।

चन्दननाथ नगरपालिका तथा सदरमुकाम खलंगामा वर्ष दिनसम्म पटक पटक मेसिन बिग्रेर बिजुली आपूर्ति नभएकाले दियालो बालेर विरोध गरिएको सहभागीहरुले बताएका छन्।  

२०४० सालमा घुघुतीमा उत्पादित विद्युत गृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो।

समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो। नक्कली मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको हो।

विद्युत् प्राधिकरणको लापरबाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेका नागरिक अगुवा तथा विद्युत् तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति संयोजक राजबहादुर महतले बताए।

‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,’ उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ।

विद्युत् तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति तथा नागरिक समाज जुम्लाका अध्यक्ष महतले तत्कालीन जेनेरेटरबाट विद्युत् आपूर्ति गर्नुपर्ने, राष्ट्रिय प्रसारण लाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत् आपूर्ति गर्नुपर्ने बताए।

टेण्डर आह्वान गरी जोडिएको मेसिनमा पटक पटक खराबी देखिएकोले छानबिन नभए कानुनी प्रक्रिया बढाउने उनले चेतावनी पनि दिए। 

त्यसैगरी जुम्लामा फोन र इमेल क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित छ। यसका लागि नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.