विज्ञ भन्छन् : सडक मर्मत गरेर मात्र ब्रुमर चलाउनु बुद्धिमानी

|

काठमाडौं : काठमाडौं क्षेत्रभित्रका सडकमा  महानगरले फोहोर सफा गर्नका लागि ब्रुमर चलाएको आगामी चैत १२ गते दुई वर्ष हुँदैछ। दुई वर्षको हाराहारीमा राति ब्रुमरले बढारे पनि भोलिपल्ट सडकको हालत उस्तै देखिन्छ। ब्रुमर चले पनि सर्वसाधारणले शहर सफा भएको अनुभूति गर्न सकेका छैनन्।

यता, काठमाडौं महानगरपालिकाअन्तर्गत वातावरण विभागका कार्यसञ्चालन शाखा प्रमुख एवं नगर प्रहरी निरीक्षक पूर्ण चन्द भट्ट बेलुका ब्रुमरबाट जति सडक सफा गरे पनि सवारीसाधनका चक्काको हिलोले भोलिपल्टै सडक उस्तै फोहोर देखिने गरेको बताउँछन्।

‘हामीले लकडाउनको बेलामा पनि ब्रुमर चलायौँ,’ उनले भने,‘त्योबेला अन्य सवारीसाधन गुड्न नपाएका कारण सडक सफा देखिन्थ्यो। अहिले फेरि समस्या निम्तिएको छ।’ ब्रुमर चलाइसकेपछि केही हदसम्म भने सुन्धारा,रत्नपार्क लगायतका केही सडक सफा भएको उनी दाबी गर्छन्।

उनका अनुसार चावहिल–जोरपाटी,सुन्दरीजल–साँखुलगायत सडक पिच हुन नसक्दा त्यस रुटबाट आएका सवारीसाधनको चक्कामा हिलो अल्झिएको हुन्छ। त्यही हिलोका कारण ब्रुमरले बढारेको ठाउँमा फेरि फोहोर र धुलोको थुप्रो लाग्छ। ‘संरचना निर्माणका टिपरले पनि बाटोमा ढुवानी गर्दा बालुवा,गिटी झारेको हुन्छ,’उनले भने,‘त्यसैले पनि सडकमा फोहोर हुने गर्छ।’

ब्रुमरले बढार्‍यो  चार हजार ७८ टन फोहोर

काठमाडौं महानगरपालिकासँग हाल ७ वटा ब्रुमर छन्। महानगरपालिकाका अनुसार ब्रुमर चालक,सहचालक,कन्ट्रोल गर्नेलगायत गरी १८ जना कामदार अहिले खटिएका छन्। ३२ वटै वडामा चार सय ७८ जना कुचीकार छन्। जसमा पुरुष एक सय ९२ र महिला दुई सय ८६ जना छन। उनीहरू पनि ब्रुमर नपुग्‍ने र  नभेट्ने ठाउँमा फोहोर उठाउनमा खटिन्छन्। 

नगर प्रहरी निरीक्षक भट्टले ब्रुमर सञ्चालनमा आएपछि हालसम्म चार हजार ७८ टन फोहोर उठेको जानकारी दिए। ब्रुमरबाट उठाएको फोहोर तथ्यांकअनुसार दैनिक महानगरका सडकबाट १८ टन धुलो उठ्छ। ०७६ साउनदेखि ०७७ असारसम्म १६ सय ६४ टिपबाट चार हजार ९ सय ९२ टन धुलो उठाइएको थियो। ०७७ साउनमा २ सय दशमलव ५ टन,भाद्रमा ५६,असोजमा ४३६.५ र कात्तिक महिनामा तीन सय ९३ टन फोहोर उठेको छ। मंसिर महिनाको भने हिसाब निकाल्नै बाँकी छ।

त्यो धुलोमाटोबाट इँटा बनाउने महानगरको योजना भए पनि माटो मिश्रित भएकाले खोला किनारका सडकको खाल्डा पुर्ने गरेको जानकारी दिए। उनले भने,‘पहिला ब्रुमरबाट उठेको धुलोबाट इँटा बनाउने योजना थियो। तर,धुलोमा चुरोटका ठुटा,खैनीको खोललगायत अन्य वस्तुहरू मिसिएकाले इँटा बनाउन नमिल्ने भयो।’ उनले माटो छान्न सकिएमा मात्र इँटा बनाउन मिल्ने बताए। 

राति ज्यानकै जोखिम मोलेर काम गर्दै 

महानगरपालिकाले टेकुबाट सुरु गरेर सोल्टीमोड,कलंकी,नयाँ सडकलगायत रुटमा बेलुका ८ बजेदेखि  राति २ बजेसम्म सडक सफा गर्ने गर्छ। रातको समयमा ब्रुमरबाट सडक सफा गर्दा ज्यान नै जोखिम हुने भट्टसुनाउँछन्।

उनले भने,‘रातिको समयमा लागुऔषध सेवन गरेका उच्छृंखल युवाहरू आएर दुर्व्यवहार गर्छन्,माछापोखरी अगाडि एक पटक बाटो नै छेकिदिए। बाइकवालाले अटेर गर्छन्। त्यसले हाम्रो काममा बाधा आइपर्छ।’ उनीहरूलाई पटक-पटक कारबाही गरे पनि अटेर गरिरहने उनले दुखेसो सुनाए।

सडकका खाल्डाखुल्डी मर्मत गरेर मात्रै ब्रुमर चलाउन सुझाव

सहरलाई स्वच्छ र सफा बनाउनका लागि सबैभन्दा पहिले सडकमा भएका खाल्डाखुल्डी मर्मत गर्नुपर्ने विज्ञहरू बताउँछन्। पूर्वाधारविद् सूर्यराज आचार्य सडक पूर्णरूपले मर्मत गरेर मात्रै ब्रुमर चलाउँदा उपयुक्त हुने बताउँछन्।

‘सडकमा ब्रुमर चलाउनु भनेको बसिलाले तास्नुपर्ने फर्निचरको काठमा खाक्सी लगाए जस्तो हो। काठलाई पहिला बसिलाले तासिन्छ। त्यसपछि रन्दा चलाइन्छ। त्यसपछि मात्र खाक्सी लगाइन्छ,’ उनले भने, ‘ब्रुमरले फोहोर उठाउनका लागि सडक चिल्लो चाहिन्छ। खाल्डाखुल्डी नभएका यहाँ कुनै सडक नै छैन।  कालोपत्रे उप्केको र मर्मत गर्नुपर्ने सडकको काम सकेर मात्रै ब्रुमर चलाउनु  बुद्धिमानी हुन्छ।’ 

 त्यस्तै, अर्का ट्राफिक इन्जिनियर आशीष गजुरेल पनि सडक सफा बनाउन सबैभन्दा पहिले खाल्डाखुल्डी मर्मत गर्नुपर्ने सुझाउँछन्। उनले भने,‘ब्रुमरले सडक खाल्डाखुल्डी नभएका ठाउँमा मात्रै सफा गर्ने हो। सडक केही नभए ब्रुमरले राम्रोसँग काम गर्छ। सडक सफा पनि हुन्छ। तर, यहाँका सडकमा खाल्डाखुल्डी छन्। त्यसैले प्रभावकारी हुन सक्दैन।’

ब्रुमर सञ्चालन गर्नुअघि सडकको चुहावट पानी बन्द गरिनुपर्ने, अस्तव्यस्त सडक मर्मत गरिनुपर्ने, हिलाम्मे सडकबाट भित्र सवारीसाधन छिराउँदा चक्का धोएर मात्रै छिराउनुपर्ने तब, मात्र सहर सफा हुने उनको सुझाव छ। 

यस्ता छन् ब्रुमर

महानगरपालिकाले २०७५ सालमै इटाली कम्पनीबाट करिब ११ करोड लागतमा पाँच वटा ब्रुमर खरिद गरेको थियो। पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका छन् भने,बाँकी एउटा ६ टन क्षमताको छ। ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धुलो संकलन गर्न सक्ने क्षमता छ।

 युरो मापदण्डका भनिएका यी ब्रुमरमा अगाडि, बीचमा र पछाडिको भागमा दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ। पछि, २०७६ असारमा महानगरपालिकालाई चीनको छेन्दु नगरले उपहारस्वरूप दुईवटा ब्रुमर हस्तान्तरण गरेको थियो। 

यी ब्रुमर युरो ५ मापदण्डका हुन्। ८.६ मिटर लम्बाइ र ३.५ मिटर चौडाइका ब्रुमरमा २ वटा इन्जिन छन्। धुलो र पात पतिंगर संकलन गर्न प्रयोग गर्न सकिने हरेक ब्रुमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ। 

सवारीसाधनका चक्का धुने महानगरको योजना अलपत्र 

महानगरपालिकाले ब्रुमर सञ्चालनमा ल्याउँदै गर्दा सडक मर्मत गराउने,सवारीसाधनको चक्कामा रहेको हिलो पखालेर मात्रै छिर्न दिनेलगायत योजना बनाएको थियो। तर,हालसम्म कार्यान्वयनमा आउन सकेको छैन।

यस विषयमा महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्,‘छिमेकी नगरपालिकासँग छलफल गरिरहेका छौँ। छलफल टुंगिएपछि काठमाडौंमा प्रवेश गर्दा हिलो पखाल्ने योजना लागू गर्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.